सलिम मियाँ
बिजुवार, कात्तिक ७ गते । माण्डवी गाउँपालिका –५, रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको मृत्यु भएको छ । तीनजना यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा ऐरावती –५, गोठीबाङका २७ वर्षीय निरज सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उहाँको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरूमा ऐरावती –१, सिर्सेनीका ३३ वर्षीय रेशम गुरुङ, ३२ वर्षीय शुदिप गुरुङ र २१ वर्षीय कविता गुरुङ रहेका छन् । उहाँहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि प्युठान अस्पताल लगिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल पठाइएको छ ।
प्रहरीका अनुसार ऐरावती –१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार गाडी अनियन्त्रित भएको बताइएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको बताइएको छ ।