ललितपुर, भदौ १ गते । शान्त स्वभावका नरसिंहको जात्रा (उपाकलं सायाः) मङ्गलबार गरिएको छ। पाटनको प्रसिद्ध कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन्। ललितपुर उपाकर्म गूठीद्वारा सञ्चालित नरसिंह जात्रा देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन चलाउँदै आएका छन्।
कार्तिक नाच संरक्षण समिति तथा नरसिंह जात्रा मूल समारोह समितिका सदस्य सञ्जय राजोपाध्यायले गत केही वर्ष कोरोना महामारीका कारण धुमधामसँग जात्रा मनाउन नपाएको गुनासो व्यक्त गर्नुभयो। राजोपाध्याय ब्राह्मणहरूको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ। जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो।
वलाबाट पूर्णचण्डी क्वालखु, झतापोल, कुम्भेश्वर, क्वबहाल, स्वथ, मङ्गलबजार, सौगल, सुन्धारा, वकुबहाल, चक्रबहिल, तङ्गल, हौगल, तिछुँगल्ली, इखालखु, जेनबहाल, नकबहिबाट धलायचा गाःबहालबाट प्यंगःथां, पिम्बहाः स्वनिम्हमै सम्पन्न हुने गर्छ। यसरी नगर परिक्रमा गराइँदा नरसिंहको दायाँ र बायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन्। अगाडि भने भक्त प्रह्लादका रूपमा एक जना बालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर उल्टो हिँड्ने गर्छन्। राजोपाध्यायले थप्नुभयो, “नरसिंहको पछाडि कपडाबाट बनाइएको दुईवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई लतार्दै जान्छन्। रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास छ।
नरसिंह जात्रा विज्ञ हेरम्बानन्द राजोपाध्यायले मधु र कैटभको बध नारायणले गरेका जानकारी दिँदै भन्नुभयो, “यसमा नारायणलाई साथ दिएका थिए कालीले। मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडिको भाग काली हो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)