लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक १३ गते । मैथिली विकास कोषले भाइ–बहिनीको प्रेम र सद्भावको प्रतीक मानिने सामा–चकेवा पर्वको अवसरमा आगामी आइतबार सामा–चकेवा खेल प्रतियोगिताको आयोजना गर्न लागेको छ। छठ पर्वको खरना दिनदेखि सुरु हुने यो पर्वको सांस्कृतिक महत्व जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कोषले जनाएको हो।
सांस्कृतिक संरक्षणसँगै समुदायबीचको एकता प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक पक्षले बताएको छ। प्रतियोगितामा विजेताहरूका लागि पुरस्कारको समेत व्यवस्था गरिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो।
गत वर्ष पनि कोषले सामा प्रतियोगिता आयोजना गरेको थियो। चौधरीका अनुसार यस प्रकारका कार्यक्रमले लोपोन्मुख मैथिली संस्कृति जगेर्ना तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिइएको हो।
मिथिला क्षेत्रमा विगतमा अत्यन्त उल्लासका साथ खेलिने सामा–चकेवा पर्व पछिल्ला वर्षहरूमा धमिलो बन्दै गएको छ। प्रत्येक टोल–टोलमा खेलिने सामा खेल अब छिटफुट रूपमा मात्र खेलिन थालेको भन्दै स्थानीयवासी र संस्कृति अभिभावकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। कोषले यस्तो परम्परा जोगाउन सामुदायिक सहभागिता बढाउने अपेक्षा लिएको छ।