काठमाडौँ, कात्तिक ११ गते । लोकको चरित्र उदाङ्गो पार्न देखाइने प्रसिद्ध कार्तिकनाच (काती प्याखँ) सोमबार ‘भक्त सुरदास प्याखँ’ मञ्चनसहित प्रारम्भ भएको छ । पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा छेउको डबलीमा विसं १६९७ (नेसं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिकनाच सुरु गर्नुभएको हो । धार्मिक र तान्त्रिक महत्वसँग जुडिएको काती प्याखँ १० दिन चल्ने छ । कार्तिकनाच समितिका सदस्य तथा तलेजु मन्दिरका पुजारी सञ्जय शर्मा राजोपाध्यायले ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले संसारलाई बिउँझाउनका लागि देखाउन लगाएको नाचको अहिले पनि उत्तिकै महत्व रहेको जानकारी दिनुभयो । जनतालाई नैतिक शिक्षा दिनका लागि कार्तिकनाच देखाउने गरेको उहाँको भनाइ छ ।
राजोपाध्यायले ५० वर्षअघि एक महिनासम्म चल्ने कार्तिकनाच हाल १० दिन मात्र चल्ने गरेको जानकारी दिँदै ‘दर्शकको भिडले पनि यो अझै समयसापेक्ष रहेको देखाउने बताउनुभयो । दोस्रो देखि चौथो दिनसम्म बाथः प्याखँ – च्वले खुदाँ दाँ खुदाँ, कौला खिचा र महामुख नृत्य प्रदर्शन गरिने छ । त्यसपछि पाँचौँ दिन युद्ध कला, छैटौँ दिन देवी प्याखँ, सातौँ दिन जल शयण (मधु–कटैव वध), आठौँ दिन वराह अवतार (हिरण्याक्ष वध), नवौँ दिन नृसिंह अवतार (हिरण्यकश्यपु वध) र अन्तिम दिन वस्त्रहरण लीलानाच देखाइने छ । यी विविध नाच हरेक साँझ ७ बजे सुरु हुने छ ।
कार्तिकनाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता भएको बताउनुभयो । ‘सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ । हरेक दिन फरक फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ, अध्यक्ष चित्रकार भन्नुहुन्छ । हरेक वर्ष कार्तिक महिनामा देखाइने भएकाले यस नाचको नाम पनि काती प्याखँ हुन गएको हो ।
मल्लकालीन राजा सिद्धिनरसिंहले देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुल यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहासमा उल्लेख छ ।
कार्तिकनाच संरक्षण समितिले आर्थिक रूपमा सबल हुन सकेमा आगामी वर्षमा काती प्याखँलाई निरन्तर एक महिनासम्म देखाउने लक्ष्य रहेको जानकारी दिएको छ । यसै गरी यो नाच १० दिनमा खुम्चयाउनु परेका अन्य कारण अहिले यसको विशेषता बुझेको कलाकारको विदेश पलायन, नयाँ पुस्तामा भाषागत समस्या, कलाकारले व्यावसायिक रूपमा यस क्षेत्रमा समय दिन नसक्ने र सरकारी पक्षबाट पर्याप्त मात्रामा यस संस्थालाई सहयोगको कमी रहेको बताइएको छ । मल्लकालीन समयमा कार्तिकनाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो ।