काठमाडौँ, साउन ८ गते । भूत, प्रेत र पिशाचादिलाई बिदा गर्दै देशभरका नेवार समुदायले बुधबार गठामुगः (घण्टाकर्ण) पर्व मनाएका छन् । घण्टाकर्णसँगै नेवार समुदायमा चाडपर्वको आगमनसमेत भएको मानिन्छ ।
साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदायमा यो चाड मनाइन्छ । यस दिन राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिबाट बिदा गरिन्छ । यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ । बेलुका घण्टाकर्ण (गठेमङ्गल) को पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाइन्छ ।
घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्ट वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ । संस्कृतिविद् गणेशराम लाछीले घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भूत पन्छाउने कार्य) गर्ने बताउनुभयो ।
उहाँले काँचो माटोको सानो दहीको कतारो वा सलिचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिने उहाँले बताउनुभयो । उहाँले घरका केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन रहेको बताउनुभयो । वयस्क युवतीले आजको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने चलन रहेको छ ।
त्यसै गरी साँझपख घर घरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, ‘धुँ स्वाँ’ र ‘बौ स्वाँ’ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वासे (नेवार समुदायको मानिस मर्दा लुगा फाल्ने ठाउँ वा चौबाटो) मा लगेर सेलाउने गरिने जानकारी दिनुभयो । यसअघि घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।
घण्टाकर्णलाई किसानको सिनाज्या ब्यङ्केगु (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुवात भएको पर्वका रूपमा पनि लिने गरिन्छ । रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ‘सिनाज्या ब्यङ्केगु’ पर्व मनाउने गरिन्छ ।
घण्टाकर्ण पर्व प्राचीनकालदेखि नै प्रचलनमा रहेको संस्कृतिविद् ओम धौभडेल बताउनुहुन्छ । उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि प्रचलनमा रहेको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत लिइने गरेको धौभडेल बताउनुहुन्छ ।
नेवार समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महìवको कार्य नगर्ने परम्परा रहेको छ । नेवार समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरवनाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरु हुन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुन्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।