• १३ साउन २०८१, आइतबार

विदेशिएका युवाको कथा 'सपना अनेक अनेक'

blog

काठमाडौं, साउन ८ गते । नेपालका कयौं युवा उज्ज्वल भविष्यको सपना बुनेर विदेशिन बाध्य छन् । आजको समाज नै विलासी जीवनमा अडिएको छ । जसका लागि पैसाले ठूलो भूमिका खेल्ने गरेको छ । 

यसैबीचमा कयौं विदेशिएका युवा धन कमाउने आशमा काठको बाकसमा नेपाल फर्किने गरेका छन् । धन कमाउने र उज्ज्वल भविष्यको सपना देखेर वैदेशिक रोजगारीमा गएका युवाको निधनपछि घरपरिवारले भोगेका समस्या र पीडामा बुनेको कथा हो सपना अनेक अनेक । 

वैदेशिक रोजगारमा गएका युवाका पत्नीले आफ्नो श्रीमान् गुमाएको र छोरीले आफ्नो बुबा गुमाएको कथा सपना अनेक अनेकमा चित्रण गरिएको छ । यो गीति नाटक आफैंमा एउटा सपना हो । कथामा विदेशिएका बुबाको निधनसँगै घरमा रहेकी आमाको पनि निधन भएपछि एक्ली बनेकी छोरीको पीडा नाटकमा उतारिएको छ । 

कवि गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित गीति रचनाको कलात्मक नाटकीकरण र मञ्चीय प्रस्तुति हो यो । आफ्नो मातृभूमिबाट अमेरिका पुग्ने सपना बुन्नेहरु अमेरिकाको माटोमा पुगे पनि आफ्नै देशको सम्झनाले रातदिन तड्पिने गर्छन् । तिनै युवाहरुको तड्पपनलाई सर्वनामले सपना अनेक अनेकमा उतारेको छ । 

जुनसुकै देशमा पुगे पनि आफ्नो माटो र आफ्नो आमाको मायाले विदेशिएका युवालाई पिरोल्ने गर्छ । आफ्नो गाउँघरमा साथी र संगीसँग बिताएका रमाइला क्षणले ती युवालाई पिरोल्नुसम्म पिरोल्छ । 

'आमा' अर्थात् नेपाल आमा । आमाको त्यो विम्ब नै यस नाटकको मूल सार हो । नाटकमा सङ्गीत र गायनको गहिराइसँगै परिकल्पनालाई जीवन्त दिनका लागि लोकनृत्य, चर्यानृत्यका साथै आधुनिक र शास्त्रीय नृत्यको भावलाई आधारको रुपमा प्रयोग गरिएको छ । गीत अनुसार बीचबीचमा चाहिने गति सबै प्रक्रियालाई कलाकारले विशेष रुपमा अँगालेको देखिन्छ । 

झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका अशेष मल्लको यो पहिलो गीति नाटक हो । नाटकमा प्रस्तुत गरिएका कथाका भावलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको निर्देशक अशेष मल्लको भनाइ छ । 

नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य र प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ ।  

नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय छ ।