नीराजन परियार
चौमाला (कैलाली), चैत ७ गते। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।
टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गर्नुभएको हो।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो । एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले एसपीए कलेजको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै एपीएको विश्वासलाई मैदानमा राम्रो खेल्दै प्रमाणित गर्ने प्रतिबद्धता गर्नुभयो। टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन् ।