• २० फागुन २०८२, बुधबार

खाडी क्षेत्रको युद्ध प्रभाव

blog

भ्यान्टोरले प्रदान गरेको उपग्रह तस्बिरमा साउदी अरबको रास तनुरा तेल रिफाइनरीमा सोमबार ड्रोन आक्रमणपछि भएको क्षति । तस्बिर रासस/एपी

वैदेशिक व्यापार खुम्चने 

लक्ष्मी सापकोटा

काठमाडौँ, फागुन २० गते । इरानलगायत खाडी क्षेत्रका देशमा आएको युद्धको अवस्थाले वैदेशिक व्यापारमा असर पर्ने देखिएको छ । गत शनिबार अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले गरेको जवाफी आक्रमणले आयातनिर्यातमा असर पर्ने भएको हो । ती क्षेत्रका देशमा नेपालबाट हुने निर्यात न्यून भए पनि आयात भने उच्च रहेको छ । 

व्यापारविज्ञ रविशङ्कर सैँजूले युद्धको अवस्थाले आयातनिर्यातमा प्रत्यक्ष असर पर्ने बताउनुभयो । औद्योगिक क्षेत्रमा सङ्कट, कृषि क्षेत्रमा जोखिम, वैदेशिक मुद्रा सञ्चितिमा दबाब, निर्यात बजारमा गुम्ने सम्भावना देखिएको सैँजूको भनाइ छ । आपूर्ति शृङ्खला विविधीकरण गर्ने, सुन र विलासिताका वस्तुको आयातमा कडाइ, श्रम गन्तव्यको सुरक्षा योजना र श्रम बजारको विविधीकरण गर्नुपर्ने उहाँको भनाइ छ । आन्तरिक उत्पादन बढाएर आत्मनिर्भरतातर्फ लाग्नुपर्ने पनि उहाँको सुझाव छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको आयात भएकोमा नेपाललाट एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपियाँ बराबरको निर्यात भएको छ । जसमा खाडी क्षेत्रका ११ देशबाट ५१ अर्ब ९९ करोड सात लाख एक हजार रुपियाँ बराबरको आयात हुँदा नेपालबाट एक अर्ब ७० करोड दुई लाख रुपियाँ बराबरको निर्यात भएको छ । 

ती देशबाट आयात धेरै भए पनि निर्यात न्यून हुँदा ४९ अर्ब ३९ करोड ७० लाख ७१ हजार रुपियाँ व्यापार घाटा रहेको छ । बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेकोमा आयात रोकिँदा स्वदेशी उद्योगलाई समस्या पर्ने निर्यात परिषद्का पूर्वअध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले युद्ध लम्बिँदै गए आपूर्ति शृङ्खलामा असर पर्ने जानकारी दिनुभयो । 

कतार, कुवेत, बहराइनमा पास्ता, चाउचाउ, लेज, तयारी खाना, रेजर/ब्लेड, कुरकुरे निर्यात हुने गर्छ । ती देशबाट सुन, रासायनिक मल, सिमेन्टको कच्चा पदार्थ, केमिकल, फोन, टिभी, सुन, ननअल्कोहल ड्रिङ्क्स, औषधीका उपकरण आयात हुने गरेको छ । 

विभागका अनुसार चालु आवको सात महिनामा साउदी अरबबाट तीन अर्ब ७२ करोड २९ लाख ३३ हजार रुपियाँ बराबरको आयात हुँदा २० करोड ४७ लाख ३९ हजार रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै कतारबाट तीन अर्ब ३४ करोड ९८ लाख रुपियाँ बराबर र ओमानबाट ३४ करोड ९४ लाख सात हजार रुपियाँ बराबरको आयात हुँदा छ करोड ५२ लाख रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै बहराइनबाट दुई अर्ब ६२ करोड ९३ लाख रुपियाँ बराबरको आयात हुँदा ७७ लाख आठ हजार रुपियाँ बराबर र कुवेतबाट ७६ करोड चार लाख रुपियाँ बराबरको आयात हुँदा चार करोड ६८ लाख रुपियाँ बराबरको निर्यात भएको छ । चालु आवको सात महिनामा कतारबाट साढे दुई अर्बको रासायनिक मल आयात भएको छ । मलको आयात रोकिँदा किसानले अभाव खेप्नुपर्ने हुन्छ ।

युएईबाट सुनचाँदी र तामाको तार आयात हुने गरेको छ । तामाको तार आयात रोकिँदा विद्युतीय उत्पादन क्षेत्रमा असर पर्ने देखिएको छ । यस्तै साउदी अरबाट पोलिमर (पोलिथिन र पोलिप्रलोपियन) को कच्चा पदार्थ आयात हुने गरेकामा आयातमा समस्या हुँदा नेपालको प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगलाई कच्चा पदार्थ अभाव हुने देखिएको छ । कतारबाट रासायनिक मल, टेलिभिजन, सुन आयात हुने गर्छ ।

नेपाली श्रमिक सुरक्षित

 सीता शर्मा

काठमाडौँ, फागुन २० गते । अमेरिका–इजरायल र इरानबिचको युद्धले खाडीका देशमा रहेका नेपाली श्रमिकलाई सुरक्षाको चिन्ता बढाएको छ । जुन जुन देशमा अमेरिकी सैन्य क्याम्प छन्, ती सबै जसो ठाउँमा इरानले जवाफी आक्रमण गरेको छ । खाडीका देश संयुक्त अरब इमिरेट्स (युएई), साउदी, कतार, कुवेत, बहराइन, ओमानलगायतमा १७ लाखभन्दा बढी नेपाली कार्यरत छन् । ती देशका विमानस्थल, आवासीय भवन, होटेल, तेलखानी जस्ता महìवपूर्ण क्षेत्रमा भइरहेको आक्रमणले असुरक्षित भएको ती देशमा कार्यरत नेपाली श्रमिकले बताएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ती देशमा रहेका दूतावासमा कार्यरत श्रम सहचारी नियमित सम्र्पकमा रहेको र अहिलेसम्म नेपाली सुरक्षित रहेको जानकारी दिनुभयो । 

कतारमा रहेको नेपाली दूतावासले कतारबाट त्यहाँ कार्यरत नेपालीलाई अहिले नै उद्धार गर्नुपर्ने अवस्था नरहेको जानकारी प्राप्त भएको जनाएको छ । दूतावासले विज्ञप्तिमार्फत कतार सरकारले अहिले नै उद्धार गरिहाल्नुपर्ने अवस्था नरहेको जानकारी गराएको हो । 

दूतावासका अनुसार कतारमा दिनमा दुई/चार पटक विस्फोटका आवाज सुनिने गरेको छ । कतार सरकारले घरभित्रै सुरक्षित स्थानमा बस्न, अनावश्यक बाहिर ननिस्कन भनेको छ । कतार सरकारको प्रतिरक्षा प्रणालीका कारण पनि सबै जना सुरक्षित भएको कतारका लागि नेपाली दूतावासका प्रथम सचिव अमर राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले दूतावासमा दैनिक झन्डै तीन सय जना सम्पर्कमा छन् । सम्पर्कमा आएकामध्ये केहीले उद्धार कहिले हुन्छ भनेर प्रश्न गरेका छन् भने कतिपयले घर फर्किने इच्छा गरेकाले फोन, म्यासेज र ह्वाट्सएपको जवाफ दिइएको छ । 

यस्तै इरानको समेत हेर्दै आएको कतारको दूतावासले इरानमा अहिलेसम्म छ जना नेपाली नियमित सम्पर्कमा रहेको र उनीहरू अहिलेसम्म ठिक रहेको सूचना प्राप्त भएको जनाएको छ । 

बहराइनमा २८ हजार नेपाली कार्यरत छन् । बहराइनस्थित नेपाली दूतावासले अहिलेसम्म बहराइनमा रहेका नेपाली सुरक्षित रहेको र अवस्था सामान्य रहेको जनाएको छ । बहराइनका निश्चित बजार तथा सपिङ मल खुलेका छन् । दूतावासको सम्पर्कमा पुगेका कतिपयले भने उडान सञ्चालन भए नेपाल फर्किन चाहेको बताएका छन् । 

यस्तै कुवेतमा एक लाख ७५ हजार नेपाली श्रमिक कार्यरत छन् । सरकारले रोजगारीमा जान प्रतिबन्ध लगाएको देश इराकमा ३० हजार नेपाली कार्यरत छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार इराक र कुवेतमा रहेका नेपालीलाई दुवै देशका सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन, सकेसम्म घरभित्रै बस्न, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्न र आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ । 

अहिले कुवेतको हवाईक्षेत्र पूर्ण रूपमा बन्द छ । त्यसैले कुवेत आउने र बाहिरिनेलाई सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न र कुनै समस्या परेमा दूतावासमा हटलाइनमा फोन गर्न वा ह्वाट्सएपमा म्यासेज गर्न सकिने पनि दूतावासले जनाएको छ । 

ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानमा २५ हजार नेपाली श्रमिक छन् । एडभाइजरी जारी गर्दै स्थानीय सरकारले जारी गरेका सुरक्षा सतर्कताका उपाय अपनाउन, आधिकारिक रूपमा सरकारीस्तरबाट पुष्टि भएकाबाहेक अन्य विषयवस्तु तथा भिडियो पोस्ट र सेयर नगर्न अनुरोध गरेको छ । अहिलेको अवस्थालाई ध्यानमा राखेर दूतावासले हटलाइनको व्यवस्था गरेको छ ।