• २० फागुन २०८२, बुधबार

निर्वाचन तयारी पूरा

blog

प्रतिनिधि सभा सदस्यका लागि भोलि (बिहीबार) देशभरि एकै चरणमा आमनिर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिएर मुलुकलाई नयाँ निकास दिन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । उहाँहरूले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई यसै निर्वाचनले नवीन ढङ्गले परिभाषित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकमा भ्रष्टाचारमुक्त सुशासनका लागि गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) ले गरेको आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले यो निर्वाचन गराउन लागेको हो । राष्ट्रपति पौडेलले जेनजीको मागबमोजिम पूर्वप्रधान न्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम प्रधानमन्त्री बनाएर छ महिना (फागुन २१) मा आमनिर्वाचन गर्न कार्यादेश दिनुभएको थियो । सोहीबमोजिम सबै क्षेत्रको अथक प्रयासले निर्धारित समयमै निर्वाचन गराउन सक्ने अवस्था बन्यो । यसका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले निकै मेहनत गर्नुभएको छ । यो निर्वाचन आवधिक होइन, मुलुकको विशिष्ट परिस्थितिमा हुन लागेको छ । यसले पछिल्ला उपलब्धिको रक्षा र प्रवर्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता बोध गरेको छ । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हामी सबैको साझा काम र ऐतिहासिक दायित्व हो । 

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चार माध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु ।” यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादव यस निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने कुरामा विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु ।” यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको छ । मतदान प्रक्रियामा सहभागी हुँदा सबै नेपाली नागरिकले निर्वाचन आचारसंहिता पालना गर्दै सभ्य नागरिकको परिचय दिनु पर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार नै निर्वाचन हो । सबै नेपाली मतदाता आफ्ना प्रतिनिधि आफैँ छनोट गर्ने यो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन प्रतिबद्ध छन् । संविधानले दिएको बालिग मताधिकार प्रयोग गर्नु अधिकार मात्र होइन, देश र जनताको भविष्य निर्माण गर्ने कर्तव्य पनि हो । मतदाताको अमूल्य मतले देशमा शान्ति, सुशासन, स्थायित्व र समृद्धिको बाटो खोल्ने छ । 

त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपार्इंले आफ्नो र आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचैन कायम राख्न अनुरोध गर्दै शान्ति नै नेपालको असली पहिचान भएको पुष्टि गर्न पनि जोड दिनुभएको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिले मुलुक खरानी अवस्थामा पुगेको र विश्वास टुटेको अवस्थाबाट उठेर छ महिनामा चुनाव गराउने कुरा निकै जोखिम र चुनौतीपूर्ण काम हो । यसका लागि प्रधानमन्त्री कार्की अहोरात्र खटिएर निकै बुद्धिमत्तापूर्ण ढङ्गले सबै पक्षलाई विश्वासमा लिएर काम गर्नुभयो । त्यसैको परिणामस्वरूप यो निर्वाचन गराउन सम्भव भएको हो । 

चुनावी मैदानमा उत्रेका सबै राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको यो सक्रिय सहभागिताले नै हाम्रो लोकतन्त्र सबल र सुदृढ हुँदै जाने विश्वास गरिएको छ । खरानीको धुलो टकटक्याउँदै हामी कठिन सङ्क्रमण पार गरेर आमनिर्वाचन गराउने चरणमा आइपुगेका हौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरता साथ अघि बढ्न सफल भएका छौँ । यो उपलब्धि सबै नेपाली नागरिकको संयम र सहकार्यको परिणाम हो । प्रधानमन्त्री कार्कीले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी समालेर देशलाई नेतृत्व दिनु आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिनुभयो । उहाँले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्नुभयो । देशको पहिलो महिला प्रधानमन्त्री बनेर उहाँ ऐतिहासिक जिम्मेवारी पूरा गर्दै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर हुनुहुन्छ । उहाँको यो धीरता, क्रियाशीलता, अठोट र प्रतिबद्धतापूर्ण कार्यबाट मुलुकले छिट्टै नयाँ निकास पाउने छ ।