• २० फागुन २०८२, बुधबार

रौतहटमा नेपाली सेनाको पैदलदेखि हवाई गस्ती

blog

हवाई गस्तीको क्रममा रौतहटको गरुडामा अवतरण गरेको नेपाली सेनाको हेलिकोप्टर । तस्बिर सौजन्य : नारायण दल गण पुरेनवा,रौतहट

प्रवीण कुमार शर्मा 
रौतहट, फागुन २० गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले रौतहटमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पारेको छ ।

जिल्लाभर शान्ति सुरक्षा सुदृढ बनाउन नेपाली सेनाले विभिन्न सवारी साधन तथा बख्तरबन्द गाडी, मोटरसाइकल र पैदल टोलीमार्फत मतदानस्थल तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी तीव्र पारेसँगै मङ्गलबारदेखि हवाई गस्ती समेत सुरुवात गरिएका नारायण दल गण पुरेनवा, रौतहटका प्रमुख सेनानी विश्वाश बिष्टले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार समन्वयात्मक रूपमा गस्ती सञ्चालन भइरहेको नारायण दल गणका प्रमुख सेनानी विष्टले जानकारी दिनुभयो ।

मतदाताहरुलाई निर्धक्क भई मतदान गर्ने वातावरण तयार पारिएको तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । रौतहटका १८ पालिकामा हालसम्म ५३ वटा युनिट खडा गरेर नेपाली सेनाले निर्वाचन केन्द्रित सुरक्षा प्रदान गरिरहेको साथै सुक्ष्म निगरानी बढाइएको उहाँले भन्नुभयो ।

सम्भावित जोखिमलाई नियन्त्रणमा लिन नेपाली सेनाले सुरक्षा सतर्कता उच्च पारेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि रौतहटमा सात सय ५० जना नेपाली सेना खटाइएको नारायण दल गण पुरेनवा, रौतहटले जनाएको छ ।