अमरराज नहर्की
तनहुँ, फागुन २० गते । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबार अर्थात् फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नागरिकका जिज्ञासा एवम् उजुरीहरूलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीद्वारा प्रकाशित सूचनामा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधिको जानकारी लिन र दिनका लागि १८१०५०००३८८ नम्बरको टोल फ्रि सेवा प्रयोग गर्न आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले नागरिकहरूको सहज पहुँचका लागि यो व्यवस्था गरिएको बताउनुभएको छ । उहाँका अनुसार यो नम्बरमा सम्पर्क गर्दा कुनै शुल्क लाग्ने छैन र यसले निर्वाचन प्रक्रियालाई थप पारदर्शी एवम् सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर एकीकृत सुरक्षा योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार जिल्लाका सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त ‘त्रि–घेरा’ योजना कार्यान्वयनमा ल्याइएको छ ।
जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाताका लागि १४४ मतदान स्थलअन्तर्गत ३०९ स्थायी र दुई अस्थायी गरी कुल ३११ मतदान केन्द्र तोकिएका छन् । भौगोलिक अवस्था र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ८ केन्द्रलाई अति संवेदनशील सूचीमा राखी विशेष निगरानी बढाइएको छ ।
प्रशासनले मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गर्दै सादा पोसाकका सुरक्षाकर्मी र मोबाइल गस्ती टोलीसमेत सक्रिय अवस्थामा रहेको जनाएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ तिवारीले जानकारी दिनुभयो ।