काठमाडौँ, फागुन १९ गते । आइसिसी टी–२० विश्कपमा खराव प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले टोलीका खेलाडीलाई आर्थिक जरिवाना गरेको छ ।
विश्वकपमा पाकिस्तान सुपर आठबाट बाहिरिएको थियो । पिसिबीले टोलीका प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपियाँ जरिवाना गरेको हो । सुपर आठको अन्तिम खेलमा श्रीलङ्कालाई पाँच रनले हराएपनि पाकिस्तान नेट रनरेटका आधारमा पछि परेको थियो ।
विश्वकपको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । यही खेलमा खेलाडीलाई जरिवाना गरिएको बताइएको छ ।
सुपर आठमा पाकिस्तान र न्युजिल्यान्डको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान इङ्ल्यान्डसँग पराजित भएको थियो । जसले पाकिस्तानलाई सेमिफाइनल पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था बनेको थियो ।
पिसिबीले खेलाडीले पाउने पारिश्रमिकबाट जरिवाना रकम कटाउने छ । पाकिस्तानका ‘ए’ श्रेणीका खेलाडीले ६५ लाख, ‘बी’का खेलाडीले ४५ लाख, ‘सी’का खेलाडीले २० र ‘डी’का खेलाडीले १२ लाख ५० हजार पाकिस्तानी रुपियाँ पाउँदै आएका छन् । एजेन्सी