धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ४ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न छ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। पक्राउ पर्नेमा सवारी अङ्गभङ्ग मुद्दाका एक जना, ज्यान मार्ने उद्योगका एक जना र मन्दिर परिसरमा धारिलो हतियारले केक काटेर जन्मदिन मनाउने चार जना रहेका छन्।
प्रहरीका अनुसार सवारी अङ्गभङ्ग कसुरमा शम्भुनाथ नगरपालिका–३ का ३२ वर्षीय चेतन चौधरी पक्राउ परेका छन्। गत बुधबार बिहान विष्णुकुमार गुप्ताले चलाएको स १ प ६६९२ नम्बरको मोटरसाइकललाई चौधरीले चलाएको बा ५ च १२९४ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि लैजान्छु भन्दै गाडीमा राखेर बीच बाटोमै फाली फरार भएको आरोप चौधरीमाथि छ। उनलाई पक्राउ गरी छ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिनुभयो।
यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ। राजविराज नगरपालिका–१५ देउरीमा बुधबार दिउँसो पुरानो रिसिबीका कारण १६ वर्षीय रोशनकुमार यादवमाथि कुटपिट भएको थियो। सो घटनामा संलग्न रहेको आरोपमा १३ वर्षीय बालकलाई नियन्त्रणमा लिई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मन्दिरमा तरवारले केक काट्ने चार पक्राउ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्काली मन्दिर परिसरमा धारिलो हतियार प्रयोग गरी जन्मदिन मनाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार साँझ तिरहुत गाउँपालिका–५ बुधेवाका २३ वर्षीय मोहम्मद ईमरानले युवाहरू भेला गराई तरवारले केक काटेर जन्मदिन मनाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्ने अन्यमा हनुमाननगर कङ्कालिनी–१ का २० वर्षीय धर्मवीर मलाकार, १८ वर्षीय करणकुमार दास र १९ वर्षीय गोविन्द खड्का रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताउनुभयो।