काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (बुधबार) राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कडा पार्दै मतदान सम्पन्न नहुन्जेलसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यद्यपि, अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुने छन्।
निर्वाचन आयोगले आवश्यक सुरक्षा व्यवस्थाको लागि सवारी साधन नियन्त्रणको सिफारिस सरकारलाई गरेको थियो। सोही सिफारिस अनुसार, बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लाग्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार, मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अतिआवश्यक सेवाबाहेकका सबै सवारी साधन चलाउन नपाइने छ। आयोगले तीन प्रकारका सवारी साधनलाई सञ्चालन अनुमति दिएको छ ।
अतिआवश्यक सेवाका सवारी साधन – एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी साधन।
कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधन।
निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारी साधन।
सूचना अधिकारी घिमिरेले मतदाता र यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न सवारी बन्द हुनुअघि नै तयारी गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “आज राति १२ बजेबाट भोली मतदान सम्पन्न नहुन्जेलसम्म अथवा बिहीबार साँझ ५ बजेसम्म सवारी साधनको आवागमनमा निषेध हुने छ। अतिआवश्यक सेवाबाहेक अन्य सवारी साधन चलाउन पाइने छैन। सम्पूर्ण मतदाता र यात्रुहरूले आज राति १२ बजेसम्म आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ।”
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोग गर्दा कुनै अवरोध वा समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ।