सिराज खान
नेपालगन्ज, माघ २० गते । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय बैठक सम्पन्न गरेर मतदान केन्द्र निर्माण सुरु गरेका छन् ।
निर्वाचनमा खटिएका सबै मतदान अधिकृतलगायतका कर्मचारीहरु मतदानस्थलमा पुगेर सर्वदलीय बैठक सम्पन्न गरी मतदान केन्द्र निर्माण सुरु गरेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदानस्थलमा पुगेका कर्मचारीले निर्वाचन तयारीको सूचना टाँसलगायतका काम सकेर, सर्वदलीय बैठक गरेको जनाउँदै बुधबार बिहानैबाट मतदान केन्द्र निर्माणको कार्य सुरु गरिसकेको बताउनुभयो ।
अहिले जिल्लाका अधिकांश मतदानकेन्द्रहरुमा मतदानका लागि तयारी गर्ने कार्य धमाधम भइरहेको समेत उहाँले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीले भन्नुभयो, ‘‘मङ्गलबार सर्वदलीय बैठक सम्पन्न गरेर बुधबार मतदान केन्द्र निर्माण गरिने कार्यतालिका थियो । सोही बमोजिम काम भइरहेको छ ।’’
बाँके निर्वाचन क्षेत्र नम्बर २ को नेपालगन्ज–६ हडियाबाबा मठ क मतदान केन्द्रका मतदान अधिकृत अमृता केसीले मङ्गलबार निर्वाचनस्थलमा सर्वदलीय, सर्वपक्षीय बैठक गरेर विभिन्न निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले चारवटा मतदान केन्द्र रहेको सो मतदानस्थलमा बसेको सर्वदलीय बैठकले निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित गर्नका लागि १३ बुँदे निर्णय गरेर बुधबार मतदान केन्द्र निर्माणको कार्य सुरु गरिएको बताउनुभयो ।
बैठकले गरेका मुख्य निर्णयहरुमा अपाङ्गता, अशक्त, काखे बालक, क्रियापुत्री, ज्येष्ठ नागरिकहरुकालागि छुट्टै लाइनको व्यवस्था गर्ने, मतदान केन्द्रको सुरक्षामा विशेष ध्यान दिने, मतदानको समयमा खलल पुग्ने कुनैपनि कार्य कसैले गर्न नपाउने, मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएकालाई तोकिएका परिचयपत्रबाट पनि मतदान गर्न दिने, समय अवधी भित्र मतदान केन्द्रमा प्रवेश गरेकालाई मतदान गर्न दिने तथा मतपेटिकालाई निर्देशिका बमोजिम सम्बन्धित स्थानसम्म पुर्याउने लगायत रहेको मतदान अधिकृत केसीले बताउनुभयो ।
सोही प्रकारका जिल्लाका सबजसो मतदानस्थलमा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न गरेर मतदानका लागि अन्य तयारीको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा अति संवेदनशील, संवेदनशील र मतदान केन्द्र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाँके जिल्लामा जम्मा १३९ वटा मतदानस्थल र ४०३ वटा मतदान केन्द्र कायम गरिएको छ ।