• २० फागुन २०८२, बुधबार

मतदानको दिन मौसम सफा रहनेः मौसम विभाग

blog

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २० गते । जल तथा मौसम विज्ञान विभागले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन हुने ९ फागुन २१ गते देशभर मौसम सफा रहने जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रियामा असर पार्ने गरी वर्षा वा हिमपात हुने सम्भावना नरहेको जानकारी दिनुभयो। उहाँले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई नियमित परिमार्जन गर्दै एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान जारी गरिरहेको र विशेष बुलेटिन तथा नियमित अपडेट दिइरहेको बताउनुभयो।

उहाँका अनुसार, लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी भू–भागमा केही बादल देखिए पनि तत्काल पानी पर्ने सम्भावना र हिमपातको खतरा छैन। मतदानको दिन वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा हल्का बादल लाग्न सक्ने देखिएको भए पनि त्यसले निर्वाचन प्रभावित पार्ने स्थिति सिर्जना नगर्ने उहाँले जानकारी दिनुभयो।

वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, “निर्वाचनको लागि हामीले विशेष बुलेटिन जारी गरिरहेका छौं। मतदानको दिन पानी पर्ने सम्भावना छैन र मौसम राम्रो नै रहने छ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा हल्का बादल र थोरै तुवाँलो हुन सक्छ, तर यसले निर्वाचन प्रक्रियामा असर पार्ने छैन। केही ठाउँमा हावा चल्ने हुनसक्छ, त्यसका लागि बुथमा टेन्टहरू मजबुत बनाउने व्यवस्था गरिएको छ।” उहाँले आगामी शनिबारसम्म मौसम सफा नै रहने जानकारी पनि दिनुभयो।