• २० फागुन २०८२, बुधबार

‘मतदान गर्न जान सवारी नपाएको नागरिकको गुनासो’

blog

काठमाडौँ उपत्यकाबाट गृहजिल्ला फर्कन सार्वजनिक सवारीसाधन नपाएको मतदाताको गुनासो । तस्बिर न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २० गते । काठमाडौँ उपत्यकाबाट गृहजिल्ला फर्केर मतदान गर्न जान खोज्ने मतदाताले सार्वजनिक सवारीसाधन नपाएको गुनासो गरेका छन्।

बुधबार बिहानैदेखि सवारी कुर्दासमेत टिकट नपाएको र ‘रिजर्भ’ गाडीहरूले सर्वसाधारण नबोकेको उनीहरूको भनाइ छ। ओखलढुङ्गाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताउनुभयो। उहाँले बुधबार बिहानैदेखि ओखलढुङ्गा जान गाडी कुरे पनि नपाएको गुनासो गर्नुभयो।

उहाँका अनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन्। बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर फर्काइएको उहाँले बताउनुभयो। “अब भोट हाल्न जान नपाइने अवस्था आयो,” थापाले भन्नुभयो।

थापाले भन्नुभयो, “म एउटा स्कुलमा जागिर गर्छु। स्कुलले हिजोसम्म पनि बिदा दिएन। मेरो व्यक्तिगत सवारी छैन। आज २० गतेसम्म गाडी पाइन्छन् भन्ने सुनेर सार्वजनिक यातायात चढेर घर जान खोजेको, तर बिहान ४ बजेदेखि कुर्दासमेत गाडी पाइएन। अधिकांश गाडी रिजर्भ छन्। बस काउन्टरमा जाँदा दलका नेतासँग सम्पर्क गर्नुस् भने। अब भोट हाल्न जान नपाइने भयो।”

कास्कीका दिलीप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिँदै गाडी रिजर्भ गरेर लैजाँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनुभयो। उहाँका अनुसार दलहरूले मतदाता नामावलीमा रहेका आफ्ना समर्थकलाई मात्रै गाडी पठाएर लगिरहेका छन्, जसका कारण अन्य मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ।

महतले भन्नुभयो, “उपत्यका छाडेर भोट हाल्न जानेहरू निकै दुःखमा छन्। दलहरूले आफ्ना मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेका छन्। धेरै सर्वसाधारणले सवारी नै पाएका छैनन्, जसले गर्दा कतिपय मतदाता मतदान गर्न जान नसक्ने अवस्था छ।”

रामेछापका कुमार बस्नेतले भने सिट नपाए पनि गाडी भने पाएको बताउनुभयो। राजनीतिक दलका नेताहरूले रिजर्भ गाडीमा जान आग्रह गरे पनि आफूले अस्वीकार गरेको उहाँले बताउनुभयो। बिना टिकट पनि गाडी पाएको र गाउँतर्फ भोट हाल्न जाँदै गरेको उहाँले सुनाउनुभयो।

बस्नेतले भन्नुभयो, “मैले टिकट काटेको थिइनँ। पार्टीहरूले हाम्रा गाडीमा जानुपर्छ भनेका थिए, तर म गइनँ। पछि बिना टिकट पनि गाडी पाएँ। अहिले भोट हाल्न घर जाँदैछु।”

सरोकारवालाका अनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ। सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी र व्यवस्थित हुन जरुरी छ।