• १९ फागुन २०८२, मङ्गलबार

दुई पैदलयात्रु घाइते

बर्दिबास रातु पुलमा शङ्कास्पद वस्तु विस्फोट: घाइतेको अवस्था सामान्य

blog

रातु खोलाको पुलमा फेला परेको विस्फोटक पदार्थ । तस्बिरः सौजन्य इलाका प्रहरी बर्दीबास

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन १९ गते । निर्वाचनको पूर्वसन्ध्यामा बर्दिबास नगरपालिकामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईजना पैदलयात्री घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत रातु पुलको दाहिनेतर्फ रातो रङको बट्टामा दुईवटा शङ्कास्पद वस्तु देखिएका थिए । बर्दिबासबाट पूर्वतर्फ जाँदै गरेका तीन जनामध्ये एक जनाको खुट्टा शङ्कास्पद वस्तुमा लाग्दा विस्फोट भएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमले जानकारी दिनुभयो ।

विस्फोटको छर्रा लागेर कैलालीको घोडाघोडी–१० घर भई हाल बर्दिबासस्थित वर्कसपमा काम गर्ने १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको बायाँ खुट्टा र ढाडमा सामान्य चोट लागेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

विस्फोटको जानकारी प्राप्त हुनासाथ डीएसपी बमको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा करिब २०० ग्राम तौलको अर्को शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरी निष्क्रिय पारिएको छ ।

बम कसले र किन राखेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।