• २० फागुन २०८२, बुधबार

लमजुङका मतदान केन्द्रमा बुथ निर्माण

blog

लमजुङको दोर्दी गाउँपालिका–४, नौथरको चैतन्यदय मावि मतदान केन्द्रमा निर्माण गरिएको बुथ । तस्बिर: नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २० गते । लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार दिउँसोसम्ममा जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् ।

जिल्ला निर्वाचन अधिकारी यादव आचार्यले जिल्लाको १९२ वटै मतदान केन्द्रका मतदान अधिकृतले निर्वाचन सामग्री पुगेको र मतदान स्थल निर्माण कार्य भैरहेको बताउनुभयो ।

मतदान केन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले मङ्गलबार सर्वदलीय बैठक राखेर आवश्यक सूचना टाँस गर्नेलगायतका कामसमेत सम्पन्न गरेका थिए । 

बुधबार सबै मतदान केन्द्रहरूमा बुथहरू धमाधम निर्माण गरिँदै छ । मतदान स्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदान स्थलहरूमा बुथ निर्माण गरिँदै छ । 

बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि बुथ निर्माणको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुथ निर्माणका लागि लाइन बनाउनेदेखि टोरी टाङ्नेसम्मको काम भइरहेको छ ।

महिला, पुरुष, अशक्तहरूका लागि छुट्टाछुट्टै बुथ बनाइएको दोर्दी गाउँपालिका–४, नौथरको चैतन्यदय मावि ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत अनिले रेग्मीले बताउनुभयो ।

लमजुङमा १३० मतदान स्थलमा १९२ मतदान केन्द्रहरू रहेका छन् । यी मध्ये ३० मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा छन् ।सुरक्षा चुनौतीको आधारमा मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । 

७७ मतदान स्थल संवेदनशील २५ मतदान स्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । मतदान केन्द्र र स्थलको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन हुनेछन् । पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिने छन् । 

त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुने छ।