बोमलाल गिरी
नवलपुर, फागुन १९ गते । नवलपुरको गैँडाकोट नगरपालिकामा बाबुछोराको घरायसी विवादका कारण आगजनी भएको छ । गैँडाकोट नगरपालिका–४, इँटाभट्टा बस्ने ७५ वर्षीय टोपबहादुर थापा र उहाँका ४१ वर्षीय छोरा नारायण थापाबिच घरायसी विषयमा झैंझगडा भएपछि आगजनी भएको प्रहरीले जनाएको छ ।
झगडाकै क्रममा छोरा नारायणले घरअगाडि पार्किङ गरी राखिएको प्रदेश २–०३–००१ त ३१९३ नम्बरको ट्याक्टर र घरपछाडि रहेको लु २८ प ७०३० नम्बरको मोटरसाइकलमा आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । विवादको मुख्य कारण भने अझै खुल्न सकेको छैन ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताउनुभयो । आगजनीमा संलग्न फरार नारायणको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।