काठमाडौँ, फागुन १९ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को विन्दुमा कायम भएको छ ।
आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।
व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ६४, विकास बैँक एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बिमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको छ ।
सलपा विकास बैँक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडको ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ । रासस