• १९ फागुन २०८२, मङ्गलबार

धनकुटामा निर्वाचन तयारी अन्तिम चरणमा

blog

धनकुटा नगरपालिका वडा पाँचस्थित सामुदायीक भबनमा निर्माण गरीएको मतगणना स्थल ।

कविराज घिमिरे 

हिले, फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिकाको वडा ५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी गरिएको छ । मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन भवनको भीत्री भागमा वरिपरि तारजालीको घेरा हालिएको छ । 

मतगणना स्थलमा सीसी क्यामेरा जडान, जेनेरेटर तथा इन्भर्टरमार्फत वैकल्पिक विद्युत् व्यवस्था र बैकल्पिक बत्ती जडान गरिएको छ । विद्युत् आपूर्तिमा कुनै अवरोध आए पनि गणना कार्य निरन्तर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । 

प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिने जनाइएको छ । मतगणना कक्षमा उम्मेदवारका प्रतिनिधि, पर्यवेक्षक र सञ्चारकर्मीका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिने इङनामको भनाइ छ । मतपेटिका राख्ने सुरक्षित कोठा, प्रकाशको पर्याप्त प्रबन्ध, खानेपानी तथा शौचालय सुविधा लगायतका व्यवस्थापन कार्यसमेत पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गणनास्थल वरपर भीड नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरी सशस्त्र, नेपाल र निर्वाचन सुरक्षा प्रहरीको सुरक्षा घेरा रहने उनको भनाइ छ । निर्वाचन आयोगको निर्देशिका अनुसार मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने र गणनाको कार्यविधि स्पष्ट पारिने जनाइएको छ। मत परिणाम सार्वजनिक गर्दा आधिकारिक सूचना बोर्ड र सञ्चारमाध्यममार्फत नियमित अद्यावधिक गरिने इङ्नामको भनाइ छ । 

त्यस्तै सोमवार मतदान केन्द्रमा पुगेका मतदान कर्मचारीले मतलान केन्द्र निर्माणलाई तिब्रता दिएका छन् । कर्मचारी बुथ निर्मााणमा जुटेका हुन् । कतिपय केन्द्रमा मंगलवारनै र केहि केन्द्रमा बुधवार सम्ममा बुथ निर्माणको कार्य सम्पन्न हुने निर्वाचन कार्यालय धनकुटाका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । यो निर्वाचनमा धनकुटामा ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र र दुई  अस्थाई मतदान केन्द्र निर्माण गरिएको छ ।