ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १९ गते । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीका सबै मतदानस्थलहरुमा निर्वाचन सामग्री सहित पुगेका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।
हिजो सोमबार मतदानस्थलमा पुगेका मतदान अधिकृत सहितको टोलीले निर्वाचन सम्बन्धी सबै प्रकारका सूचनाहरु टाँस गरी आज मतदानस्थलमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधि सहित सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनमा खटिएका सबै मतदान अधिकृत लगायतका कर्मचारीहरु आज मंगलबार मतदानस्थल निर्माणका लागि घेराबार लगायतको तयारी तयारीमा जुटेका छन् ।
मतदानस्थलमा पुगेका कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीबाट भरपर्दो सुरक्षाको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले जिल्लाकार सबै मतदानस्थलको सुरक्षा व्यवस्थालाई भरपर्दो, चुस्त दुरुस्त र निर्वाचनमैत्री बनाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "जिल्लाभर सुरक्षा व्यवस्था मजबुद् पारिएको छ । मतदानस्थलको सुरक्षा,मतपत्रको लगायत निर्वाचन सामग्रीको सुरक्षा तीनवटै सुरक्षा निकायबाट सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ ।" निर्वाचनको पूर्वसन्ध्यमा कसैबाट पनि निर्वाचनको वातावरण खलबल पार्ने अवस्था नहोस् भनेर जिल्ला प्रशासन सचेत रहेको उहाँको भनाइ छ ।
फागुन २१ गतेका दिन ढुक्क भएर मतदानका दिन सहभागी हुन प्रजिअ आचार्यले अनुरोध गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित सबै तयारी गरिएको उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका तर्फबाट मौन अवधिमा हुने अवान्छित क्रियाकलाप रोक्नका लागि अनुगमनलाई प्रभावकारी बनाइएको प्रजिअ आचार्यले बताउनुभयो ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ती मध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित १ सय २२ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।