• १९ फागुन २०८२, मङ्गलबार

निर्वाचन सुरक्षा बुझ्न गृहमन्त्री दुर्गम क्षेत्रका मतदान केन्द्रमा

blog

मतदान सामग्रीको निरीक्षण गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

काठमाडौँ, फागुन १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चाधिकारीको टोलीले ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेको छ । टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेसहित अन्य उच्च अधिकारी सहभागी हुनुहुन्छ।

गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचनको पूर्वतयारी र सुरक्षा संवेदनशीलता बुझ्न टोलीले सोमबार ललितपुरका बुङमती, गोटिखेल, लेलेलगायत दुर्गम क्षेत्रका मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको हो । अनुगमनका क्रममा टोलीले सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रका कर्मचारीलाई सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोलीले बाँके, अछाम, बझाङ, बाजुरा र कैलाली पुगेर सुरक्षा व्यवस्थाको निरीक्षण गरेको थियो । त्यस अवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको थियो ।

त्यसैगरी, फागुन १५ गते गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरेको थियो । सरकारले निर्वाचनलाई मर्यादित बनाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाएको गृह मन्त्रालयले जनाएको छ ।