• २० फागुन २०८२, बुधबार

“गुल्मीका दुई मतदान केन्द्र महिलाको नेतृत्वमा”

blog

गुल्मी महिलाले नेतृत्व गरेको सिद्धबाबा माध्यमिक विद्यालय ‘क’ केन्द्रको दृश्य। तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, गुल्मी, फागुन २० गते ।
गुल्मी जिल्लामा ४३ मतदान अधिकृत महिला रहेका छन्। जिल्लाका २८४ मतदान केन्द्रमध्ये ४३ मतदान केन्द्रको नेतृत्व महिलाहरूले गर्दै आएका छन्। गुल्मी क्षेत्र नं १ मा २३ र क्षेत्र नं २ मा १८ मतदान केन्द्रको नेतृत्व महिलाहरूले गरिरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत कृष्णिराम घिमिरेले जानकारी दिनुभयो।

तीन तहका निजामति कर्मचारी, स्वास्थ्य सेवा र शिक्षक सेवा लगायतबाट मतदान अधिकृत नियुक्त भएका छन्। त्यस्तै, जिल्लाका रेसुङ्गा नगरपालिकाको सिद्धबाबा माध्यमिक विद्यालय ‘क’ केन्द्र र जनसहयोग माध्यमिक विद्यालय ‘ख’ केन्द्रको नेतृत्व महिलाले मात्रै गरिरहेका हुन्। 

यी दुई केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिलाहरू परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय गुल्मीका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो।

सिद्धबाबा माध्यमिक विद्यालय ‘क’ केन्द्रको मतदान अधिकृत सृजना मिश्र रहनुभएको छ। यस केन्द्रमा छ कर्मचारी, नौ निर्वाचन प्रहरी र चार नेपाल प्रहरीसहित अन्य सहायक कर्मचारी पनि महिलाहरू रहेका छन्। जनसहयोग माध्यमिक विद्यालय ‘ख’ केन्द्रमा मतदान अधिकृत पुष्पा रायमाझी हुनुहुन्छ।

गुल्मीका सबै मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेर सर्वदलिय बैठक सम्पन्न भएका छन्। सोमबार १४५ मतदान स्थलमा निर्वाचन सामग्रीसहितका कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पुगेर सर्वदलीय बैठकपछि मतदान स्थल निर्माणको व्यवस्थापन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना निर्माण र कार्यान्वयन गरिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा ४८ अत्यन्त संवेदनशील, ५७ संवेदनशील र ४० सामान्य मतदान स्थल रहेका छन्। नेपाल प्रहरीतर्फ १,६९५ र सशस्त्र प्रहरीतर्फ १७९ निर्वाचन प्रहरी परिचालन भइसकेका छन्।

जिल्लामा क्रियाशील राजनीतिक दलबाट २० जना र स्वतन्त्र उम्मेदवार २३ जना मनोनयन दर्ता गराएका छन्। मतगणना स्थल पहिचान र तयारी सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मौन अवधि अवधिमा हुने निर्वाचन आचारसंहिता उल्लङ्घनलाई तीव्र अनुगमन भइरहेको छ।

सामाजिक सञ्जाल नियमनका लागि जिल्ला प्रहरी कार्यालयमा दुई जनासहित डेस्क स्थापना गरी कार्य भइरहेको छ। जिल्लाका १४५ मतदान स्थलमा स्वास्थ्यकर्मी सहित प्राथमिक उपचार डेस्क स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो। आकस्मिक घटनाको उपचारका लागि जिल्लामा छुट्टै उपचार कक्ष पनि तयार गरिएको छ।