प्रेमराज सिम्खडा
कालीकोट, फागुन २० गते । कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीसी क्यामरासहितको मतगणनास्थल तयार पारेको छ। कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई मतदानस्थलमा खटाइसकेपछि सदरमुकाम मान्ममा मतगणनास्थलको तयारी पूरा गरिएको हो।
जिल्ला अदालत कालीकोटमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति कालीकोटको हल प्रयोग गरी मतगणना स्थल व्यवस्थापन गरेको छ। समन्वय समितिको चारतले भवनको एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई कोठामा मतगणना गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद दाहालले जानकारी दिनुभयो।
मतगणनाका लागि हललाई तारजालीले चार खण्डमा विभाजन गरिएको छ। तारजालीको पार्टेसनमा कर्मचारी आवतजावतका लागि ढोका बनाइएको छ। साथै गणनास्थलमा सीसी क्यामरा जडान गरिएको छ।
जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले मतगणनास्थलको सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामरा जडान गर्नुका साथै तारजालीले घेराबार गरिएको बताउनुभयो। उम्मेदवार र उनीहरूका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सोही दिन साँझदेखि मतपेटिका मतगणनास्थलमा ल्याउन थालिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा ८४ हजार ६४६ मतदाता रहेका छन्। यहाँ आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) लाई समर्थन गरेका छन्।