• २० फागुन २०८२, बुधबार

आचारसंहिता उल्लङ्घनमा दलको विरोध

blog

मौन अवधिमा आर्थिक चलखेल भएको भन्दै कारबाहीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधि। तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), फागुन २० गते ।
मुस्ताङका सात राजनीतिक दलले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्। नेपाली कांग्रेस का उम्मेदवार योगेश गौचन थकालीको उम्मेदवारी खारेज गर्न माग गरिएको उजुरीमा आर्थिक चलखेलले निर्वाचन प्रभावित भएको दाबी गरिएको छ।

मौन अवधिमा उपल्लो मुस्ताङमा पैसा बाँड्न लगिएको अवस्थामा सवारीसाधनसहित कार्यकर्ता पक्राउ परेको घटनापछि दलहरू आन्दोलित भएका हुन्। नेकपाका नेता ल्वागुनले भन्नुभयो, “मौन अवधिमा आर्थिक चलखेलले निर्वाचन प्रभावित भएको छ। छानबिन गरी कारबाही नभएसम्म हामी निर्वाचन प्रक्रियामा जाँदैनौँ।”

मंगलबार उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट लोमान्थाङ गाउँपालिकातर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको गाडीबाट पाँच लाख रुपियाँ बरामद भएपछि विवाद चर्किएको हो। उक्त गाडी लोमान्थाङ–५ का पूर्व वडाध्यक्षसमेत रहेका कांग्रेस नेता नवाङकुङ्गा लामासँग सम्बन्धित रहेको जनाइएको छ।

जिल्लामा उम्मेदवारी दिएका सात दलले संयुक्त आन्दोलनको घोषणा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। आर्थिक चलखेलमा संलग्नलाई कारबाही नगरेसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दलहरूले दिएका छन्। घटनापछि सर्वदलीय बैठक बोलाइएको छ।

मुस्ताङमा नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधित्यचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा। सुरेन्द्र शेरचनले हस्ताक्षर गरेको उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा गरी कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन्।