जनार्जन खत्री
सर्लाही, फागुन २० गते । सर्लाहीमा बिहीबार (भोली) हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार दिउँसोसम्ममा जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् । सर्लाहीका जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जिल्लाको ६२८ वटै मतदान केन्द्रका मतदान अधिकृतले निर्वाचन सामग्री बुझेर लगिसकेको जानकारी दिनुभयो ।
मतदानकेन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले मङ्गलबार सर्वदलीय बैठक राख्ने, मौन अवधि सुरु भएको तथा मदिरा निषेध गरिएकोलगायतका आवश्यक सूचना टाँस गर्नेलगायतका कामसमेत सम्पन्न गरेका छन् । कतिपय मतदान अधिकृत भने सोमबार नै मतदान केन्द्रमा पुगेर सूचना टाँस गर्ने काम गरेका थिए ।
सर्वपक्षीय बैठक सम्पन्न गरेसँगै अधिकांश मतदान केन्द्रमा मङ्गलबार दिउँसोदेखि सुरक्षाकर्मी र कर्मचारी खटिएर बाँस गाड्ने, डोरी टाङ्नेलगायत मतदान केन्द्र (बुथ) तयार पार्ने काम गरिरहेका हुन् । बुधबार (आज) दिउँसोसम्ममा मतदानकेन्द्र तयार पारेर भोलिको मतदानका लागि तयार अवस्थााम बस्ने मतदान अधिकृतहरुले बताएका छन् ।
मतदान केन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र निर्माणमा जुटिरहँदा चारवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार पार्ने काम भइरहेको छ । क्षेत्र नं. १ मा लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको पुरानो भवन, क्षेत्र नं. ३ मा नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना हुने छ ।
क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले मतगणनास्थलमा तारजाली हाल्ने, सिसी क्यामेरा जडान गर्ने र शिलबन्दी गरिएको मतपेटिका राख्ने कक्ष बनाइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं. १ मा केही दिनअघि नै मतगणनास्थल तयार पारिएको हो ।
क्षेत्र नं. २ का निर्वाचन अधिकृतसमेत रहनुभएका सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले यसअघिको निर्वाचनमा मतगणना गरिएकै जिल्ला समन्वय समितिको सभा हलमा मतगणनाका लागि तयारी गरिएको जानकारी दिनुभयो । यस्तै क्षेत्र नं. ३ का निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार नापी कार्यालय हरिवनको दोस्रो तलामा मतगणनास्थल बनाउने काम धमाधम भइरहेको छ ।
क्षेत्र नं. ३ मा निर्वाचन अधिकृतको कार्यालय मालपोत कार्यालयको भवनमा स्थापना गरिए पनि मतगणनाका लागि भने नापी कार्यालयको सभा हल उपयुक्त रहेकाले त्यहाँ तारजाली गर्ने, सिसी क्यामेरा जडान गर्ने, बत्ती राख्नेलगायतका काम भइरहेको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । त्यसैगरी क्षेत्र नं. ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले मतगणनास्थल तयार पारिसकिएको बताउनुभयो ।
सीमावर्ती क्षेत्र धेरै पर्ने क्षेत्र नं. ४ मा मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा पुगेर धमाधम मतदान केन्द्रसमेत निर्माण गरिरहेका निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । मतदान केन्द्रहरुमा अब आज मतपत्रसमेत पुग्दै छ ।
३४ कैदीबन्दीले मतदान गर्ने
सर्लाहीमा ३४ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलङ्गवामा कैद भुक्तान गरिरहेकामध्ये मतदाता नामावलीमा नाम भएका ३४ जना कैदीबन्दीले बिहीबार हुन लागेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार सर्लाहीमा कारागार कार्यालय मलङ्गवासहित चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार कार्यालय मलङ्गवा, जिल्ला समन्वय समिति मलंगवाको तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर र पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार सर्लाहीमा समानुपातिकमा मतदान गर्न पाउने ३४ जना कैदीबन्दीसहित कर्मचारी, सेना र प्रहरीसमेत गरेर छ हजार ८७ जना मतदाता रहेका छन् । अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरेर तीन जना मात्र परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
सुरक्षा व्यवस्था कडा, सीमा नाका बन्द
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।
सोमबार राति १२ बजेदेखि सीमा नाका पूर्णरुपमा बन्द गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतदानको दिन बिहीबार राति १२ बजेसम्मका लागि सीमा नाका सिल गरिएको हो ।
नेपाल तथा भारतमा निर्वाचन हुँदा ७२ घण्टा अघिदेखि यसरी सीमा नाका बन्द गर्ने परिपाटी रहँदै आएको छ । नाका बन्द गरिएसँगै मङ्गलबार बिहानैदेखि मलङ्गवा–सोनवर्षासहित सर्लाहीका कुनै पनि सीमा नाकाबाट मानिस तथा सवारी साधनलाई वारपार गर्न दिइएको छैन् ।
अब मतदान सम्पन्न नहुञ्जेल बिरामी बोकेका एम्बुलेन्स र अन्य अत्यावश्यक सवारी साधनबाहेक मानिस तथा कुनै प्रकारका गाडी वारपार गर्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सीमा नाका बन्द भएसँगै नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले नाकामा कडाइ गर्न थालेका छन् । सीमा नाका सिल गरिएकोबारे दुवै देशका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा माइकिङ गर्दै आवतजावत नगर्न आग्रह गरेका छन् ।