टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन २० गते । गुल्मीमा फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको मतगणनाका लागि दुई स्थानमा मतगणनास्थल निर्माण गरिएको छ ।
जिल्ला समन्वय समितिको हलमा क्षेत्र नं. १ को मतगणना गरिनेछ । भने क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसको हलमा गर्ने गरेर सीसीटिभी र तारजालीसहितको आवश्यक प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ । मतगणनामा सहभागी उम्मेदवारका गैह्रेका अनुसार प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।
मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । मतदान अधिकृत निर्वाचन सामग्रीसहित मतदानस्थल पुगेर सर्वदलीय बैठक गरिसकेका छन् । आज मतदान स्थल निर्माणको काम हुनेछ ।