आचारसंहिता भनेको कुनै संस्था, सङ्गठन, कार्यालय, विद्यालय वा निर्वाचन जस्ता क्षेत्रमा पालना गर्नुपर्ने नियम, मापदण्ड र व्यवहारका सिद्धान्तको लिखित दस्ताबेज हो । व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशले भन्छ : आचारसंहिता भनेको नैतिक आचरण, रीतिरिवाज, कर्तव्य आदिको पालना गर्न गराउनका लागि बनाइएको नियम या कानुन हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित (दसौँ संस्करण) शब्दकोशले आचारसंहिताको अर्थमा भनेको छ : आचरण या व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र या विद्या ।
निर्वाचनको प्रसङ्गमा आचारसंहिताले सरोकारवाला व्यक्तिले निर्वाचनमा कहाँ कस्तो व्यवहार गर्नु पर्छ, के गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने स्पष्ट निर्देशन दिन्छ । निर्वाचन आचारसंहिताको मुख्य उद्देश्य निर्वाचनमा अनुशासन कायम गर्नु, निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्नु तथा सबैले समान र सभ्य व्यवहार गर्न प्रेरित गर्नु हो । उदाहरणका लागि, निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्लेटफर्म आदिले पालना गर्नुपर्ने नियमलाई निर्वाचन आचारसंहिता भनिन्छ । यस पटकको आमनिर्वाचनका लागि निर्वाचन आयोगले २०८२ साल पुस १२ गते एउटा परिमार्जित निर्देशिका जारी गरी लागु गरेको थियो । आचारसंहिता भनेको राम्रो र जिम्मेवार व्यवहार सुनिश्चित गर्न बनाइएका नियमको सङ्ग्रह हो भन्ने मान्नु पर्छ ।
निर्वाचन लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण प्रक्रिया हो । यसलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन आचारसंहिता आवश्यक पर्छ । आचारसंहिताले निर्वाचनमा सरोकार राख्ने राजनीतिक दल, उम्मेदवार, आमसञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, सुरक्षाकर्मी र मतदातालाई निश्चित नियम र मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिन्छ । यसले झुटो प्रचार, पैसा वा शक्तिको दुरूपयोग, हिंसा तथा डर–धम्की जस्ता गलत क्रियाकलाप रोक्न मद्दत गर्छ । साथै सबै उम्मेदवारलाई समान अवसर दिन्छ र निर्वाचनप्रति जनताको विश्वास बढाउँछ । त्यसैले निष्पक्ष र विश्वसनीय चुनावका लागि आचारसंहिता अत्यन्त आवश्यक हुन्छ ।
आचारसंहिता कार्यान्वयनमा ध्यान दिनुपर्ने विषयलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ –
निष्पक्षता र समानता : सबै राजनीतिक दल र उम्मेदवारलाई समान व्यवहार गरिनु पर्छ । कसैलाई पक्षपात गर्नु हुँदैन ।
कानुनी आधार : आचारसंहिता प्रचलित संविधान, निर्वाचन कानुन तथा प्रचलित अन्य प्रेससम्बन्धी र अभिव्यक्ति स्वतन्त्रता सुरक्षाका लागि तयार गरिएका ऐन तथा नियम र प्रचलित विश्वव्यापी निर्वाचासम्बन्धी नियम अनुसार स्पष्ट रूपमा तयार गरी लागु गरिएको हुनु पर्छ ।
स्पष्टता र जानकारी : आचारसंहिताका नियम सबै सरोकारवालालाई स्पष्ट रूपमा बेलैमा जानकारी गराइनु पर्छ ।
अनुगमन र निगरानी : नियम पालना भए/नभएको नियमित रूपमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा अनुगमन र पर्यवेक्षण गर्नु पर्छ ।
उल्लङ्घनमा कारबाही : नियम उल्लङ्घन गर्नेहरूलाई बेलैमा, छिटो र निष्पक्ष कारबाही गर्नु पर्छ ।
पारदर्शिता : कार्यान्वयन प्रक्रिया खुला र पारदर्शी हुनु पर्छ, जसले जनतामा विश्वास कायम रहोस् ।
शान्ति र सुरक्षा : निर्वाचन अवधिभर शान्तिपूर्ण वातावरण कायम राख्न विशेष ध्यान दिनु पर्छ ।
यी कुरालाई ध्यानमा राख्दा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ ।
आमसञ्चार माध्यमका लागि आचारसंहिता
आमसञ्चारलाई अनौपचारिक भाषामा राज्यको चौथो अङ्ग पनि भनिन्छ । त्यसलाई सञ्चालन गर्ने पक्ष पत्रकारिता समाजको महìवपूर्ण अङ्ग हो र यसले जनतालाई सही, सत्य र सन्तुलित सूचना दिनुपर्ने जिम्मेवारी बोकेको हुन्छ । यदि आचारसंहिता नहुँदा झुटो समाचार, पक्षपातपूर्ण रिपोर्टिङ, अफवाह फैलाउने, वा कुनै दल वा व्यक्तिको पक्षमा प्रचार गर्ने जस्ता समस्या आउन सक्छन् ।
पत्रकार आचारसंहिताले सत्यता, निष्पक्षता, गोपनीयताको सम्मान, मानव अधिकारको संरक्षण, र जिम्मेवार समाचार प्रकाशन गर्ने नियम निर्धारण गर्छ । यसले पत्रकारलाई मर्यादित र व्यावसायिक ढङ्गले काम गर्न मार्गदर्शन गर्छ र मिडियाप्रति जनताको विश्वास कायम राख्न मद्दत गर्छ । त्यसैले पत्रकारितामा पनि विश्वव्यापी प्रजातान्त्रिक अधिकार उल्लङ्घन नहुने गरी आचारसंहिता आवश्यक हुन्छ ।
पत्रकारले ध्यान दिनुपर्ने कुरा
सत्यता र तथ्य जाँच : समाचार विचार प्रसारित, प्रचारित तथा प्रकाशित गर्नुअघि तथ्य प्रमाणित गर्नु पर्छ । यसले गलत सूचना फैलिन नदिन र जनताको विश्वास कायम राख्छ ।
निष्पक्षता र सन्तुलन : कुनै पनि पक्षको समर्थन वा विरोध नगरी सबै पक्षको कुरा प्रस्तुत गर्नु पर्छ । यसले न्यायोचित र विश्वसनीय समाचार प्रदान गर्न सहयोग गर्छ ।
स्रोतको गोपनीयता : सामान्यतया स्रोतको पहिचान सुरक्षित राख्नु पर्छ । आवश्यक पर्दा र अदालतमा प्रमाणित गर्नु पर्दासमेत स्रोत खुलाउनु बाध्यकारी मानिँदैन । यसले स्रोतको सुरक्षा र भविष्यमा पनि सूचना प्राप्त गर्न सहयोग मिल्छ ।
मानव अधिकार र गोपनीयताको सम्मान : व्यक्तिको निजी जीवनमा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन तर एउटाको मानव अधिकारको संरक्षण गर्दा अरूको अधिकार भने हनन हुन दिनु हुँदैन । यसले व्यक्तिगत सम्मान र अधिकारको संरक्षण गर्छ ।
घृणा वा उत्तेजना नफैलाउने : जाति, धर्म, लिङ्ग आदि आधारमा भेदभावपूर्ण सामग्री प्रचार, प्रसार तथा प्रकाशन गर्नु हुँदैन । यसले सधैँ झैँ निर्वाचनका बेला पनि सामाजिक सद्भाव र शान्ति कायम राख्न मद्दत गर्छ ।
जिम्मेवारी र पारदर्शिता : गल्ती भए सच्याउने र स्पष्टीकरण दिन सक्नु पर्छ । पत्रकारिताका लागि ठिक बेठिक हेर्ने पक्ष भनेको प्रेस काउन्सिल हुन्छ र अन्ततः न्यायालयले नै फैसला गर्नुपर्ने हुन्छ । यसले पेसागत इमानदारी कायम राख्न र समाचार विचारको सत्यापन गर्न सघाउँछ ।
आम निर्वाचन भोलि बिहीबार हुँदै छ । निर्वाचन आयोगको आचारसंहिता २०८२ साल माघ ४ गतेबाट लागु भएको थियो । प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन अपरिहार्य तìवको रूपमा रहेको हुन्छ । यसले शासन गर्ने व्यक्ति वा समूहको निर्णय गर्छ, निर्धारण गर्ने गर्छ । प्रजातान्त्रिक शासन प्रणाली जस्तो तय गरेको भए पनि जनतामुखी हुनु पर्छ । त्यसमा जनताको धारणालाई प्रतिनिधित्व गराउने भनेको मतदानद्वारा निर्धारण गरिन्छ ।
चाहे राष्ट्रपतीय प्रणाली होस् या संसद्को बहुमतले छानेको प्रधानमन्त्रीय प्रणाली होस्, त्यसको मुख्य केन्द्रीय तत्व भनेको संसद् नै हुन्छ । त्यस कारणले जुनसुकै स्वरूपको प्रजातान्त्रिक प्रणालीले जहिले पनि संसद्को सर्वोपरितालाई स्वीकार गरेको हुन्छ नै ।
यो पटक एउटा कुरा धेरै चर्चामा रह्यो । त्यो हो, निर्वाचन आयोगको आचारसंहितामा कडाइ । त्यसो त निर्वाचन आयोगले आफ्नो सीमाभित्र रहेरै आचारसंहितालाई कार्यान्वयन गरेको हो । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर लागु गरेको थियो । निर्वाचनसँग सम्बन्धित सरोकारवाला सबैका लागि आचारसंहिता तयार गरिएको छ र आयोगको आदेशलाई सबैले मान्नुपर्ने प्रजातान्त्रिक आचारसंहिताभित्र पर्छ ।
निर्वाचनले आगामी सरकार मात्र बनाउने होइन, नयाँ नयाँ विचारलाई देशको संसद्मा प्रवेश गराएर नयाँ नेपालको विकासमा नयाँ इँटा थप्ने काम गर्छ । आखिर त्यस्तो प्रतिनिधि छान्ने काम भनेको निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र र निर्भय परिवेशमा हुने निर्वाचनले मात्र सम्भव छ । आयोगले पनि ती कुरामा ध्यानमा राखेर मतदाता शिक्षा दिएको थियो ।
यस पटक निर्वाचन खर्चबारे सूक्ष्म अध्ययन गर्न टोली खटाइएको र बैङ्कमार्फत आय र व्ययको हिसाब राख्नका लागि पनि भनियो तर आयोगले तोकेको सीमाभन्दा धेरै खर्च गर्ने र कम हिसाब देखाउने चलन छ भन्ने व्यापक गुनासो पनि देखिन्छ । सायद त्यही भएर होला, निर्वाचन लड्ने इच्छा हुनेले पनि खर्चमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारणले मन मारेर बस्नु परेको सुनिन्छ । निर्वाचन आयोगले निर्वाचन खर्चको जुन सीमा तोकेको छ, त्यसले के कुराको इङ्गित गर्छ भने त्यो सीमा नाघ्नु हुँदैन ।
मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलका भ्रातृसंस्था वा सम्बन्धित व्यक्तिले निम्नानुसारको आचारसंहिता पालना गर्नु पर्छ ः
– निर्वाचन प्रचारप्रसारलगायत छलफल, अन्तव्रिर्mया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने,
– मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनु पर्ने,
– कुनै पनि प्रकारले कसैलाई मत माग्न नहुने,
कृत्रिम बुद्धिको प्रयोग गरेर या सामाजिक सञ्जालको कुनै पनि माध्यमद्वारा, अनलाइनको कुनै पनि माध्यमद्वारा, छापा या अन्य कुनै पनि माध्यमद्वारा राजनीतिक दल या उम्मेदवारका पक्षमा वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोस्ट वा सेयर गर्न नपाउने ।
त्यसै गरी मतदानका दिनमा पनि आचारसंहिताको पालना जरुरी छ, जसमा मतदान केन्द्र र वरिपरि अनधिकृत व्यक्तिको प्रवेश निषेध गरिएको छ र राजनीतिक दल या उम्मेदवारको पक्षमा वा विपक्षमा कुनै सङ्केत या चिह्न प्रयोग गर्न पाइने छैन । मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण कायम गर्नु पर्छ । निर्वाचन आयोगको निर्देशन अनुसार ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा असक्त बिरामी मतदातालाई विशेष सुविधा दिनुपर्ने अवस्थामा आयोगका कर्मचारीलाई अनुरोध गरी सुविधा लिन सकिन्छ तर अनुमति नभएका व्यक्तिको प्रवेशलाई रोक लगाएको छ । सामान्यतया स्थानीय प्रशासनको अनुमतिले र निर्वाचन आयोगको अनुमतिले मात्र
सवारीसाधनको प्रयोग गर्न पाइन्छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकका लागि समेत आचारसंहिताको व्यवस्था गरिएको छ ।
अन्त्यमा
आचारसंहिता स्वच्छ निर्वाचनको आधार हो, सचेत नागरिकको कर्तव्य हो । निर्वाचनलाई भयरहित, निष्पक्ष, धाँधलीरहित बनाए मात्र सही प्रतिनिधित्व हुन्छ । यही मान्यताका आधारमा आचारसंहिताको व्यवस्था गरिएको हुन्छ । त्यसैले निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, भयरहित गराउन राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम तथा पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता, सुरक्षाकर्मी, जनता जनार्दनका रूपमा रहनु भएका मतदाता, निर्वाचन आयोग र त्यसका लागि खटिएका तमाम राष्ट्रसेवक सबैको कर्तव्य हुन्छ ।