कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), फागुन २० गते । सडक, शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माण तथा छुट्टै वडा माग गर्दै प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको दार्चुलाको नौगाड गाउँपालिका–१ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा निर्वाचन गराउन कर्मचारीहरूको टोली पुगेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले मतदान अधिकृतसहित आवश्यक कर्मचारी र सुरक्षाकर्मीको टोली नागु पुगेको जानकारी दिनुभयो। स्थानीयले कुनै पनि उम्मेदवारलाई मत नदिने निर्णय गरे पनि निर्वाचन टोली अनिवार्य रूपमा केन्द्रमा पुग्नुपर्ने र प्रक्रिया पूरा गर्नुपर्ने उहाँले बताउनुभयो।
निर्वाचन गराउन नागु पुग्नुभएका मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा कुनै पनि दलका प्रतिनिधि उपस्थित नभएको बताउनुभयो। नागुका स्थानीय तथा ‘नो भोट’ संघर्ष समितिका संयोजक करनसिंह डडालसँग भेट भएको र उहाँले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी गराएको उहाँले बताउनुभयो।
“निर्वाचन सम्पन्न गराउन हामी यहाँ खटिएका छौँ। स्थानीय मत हाल्न आए पनि नआए पनि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रमा बस्नैपर्छ,” उहाँले भन्नुभयो।
यता, निर्वाचन बहिष्कारको घोषणा गरेका नागु क्षेत्रका स्थानीयलाई दलका उम्मेदवारहरूले भेटघाट नगरेको पाइएको छ। उम्मेदवारहरूले मौखिक रूपमा सडक निर्माणको माग जायज भएको र त्यसका लागि पहल गर्ने बताएका भए पनि नागु क्षेत्र नपुगेको स्थानीय नरेन्द्रबहादुर बमले जानकारी दिनुभयो। यहाँका ११ मध्ये कुनै पनि उम्मेदवार नागु नपुगेको उहाँले बताउनुभयो।
“चुनावमा सहभागी नहुने हाम्रो अडान सार्वजनिक छ। हामीसँग छलफल गर्न र मत माग्न कुनै पनि उम्मेदवार नागु आएनन्,” उहाँले भन्नुभयो। उम्मेदवारहरू नागु पुगे पनि सडक नबन्दासम्म मतदानमा सहभागी नहुने गाउँको निर्णय यथावत् रहने संघर्ष समितिका संयोजक डडालले बताउनुभयो।
उम्मेदवारहरूले नागु पुग्ने समयतालिका सार्वजनिक गरे पनि कोही नपुगेको स्थानीयको भनाइ छ। सुण्डमुण्ड गाउँभन्दा करिब एक किलोमिटर अगाडि पारिमेला बस्तीको फेदसम्म मात्रै सडक पुगेको छ। पारिमेलादेखि नागुसम्मको करिब ६ किलोमिटर सडक निर्माण हुन बाँकी छ। समय अभावका कारण नागु पुग्न नसकेको उम्मेदवारहरूले बताएका छन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने नागु क्षेत्रका बासिन्दालाई निर्वाचनमा सहभागी गराउने प्रयास गर्नुभएको छ। माघ २४ गते नागु पुगेर दुई दिन बसेका उहाँले स्थानीय र उम्मेदवारबीच संवादको वातावरण बनाउनुभएको थियो। फागुन ४ गते साँझ भर्चुअल बैठक आयोजना गरी दुवै पक्षबीच छलफल गराइएको थियो। तर स्थानीय आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको थियो।
माघ १६ र फागुन १७ गते बसेको स्थानीयवासीको वृहत् भेलाले पनि निर्वाचन बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको संयोजक डडालले जानकारी दिनुभयो। नागु क्षेत्रको प्रमुख माग दल्लेख–नागु–सीना सडक निर्माण पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने स्थानीयको भनाइ छ। नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन्।