काठमाडौँ, फागुन २० गते । देशभरि नाट्यशाला खुल्ने क्रम उत्साहजनक छ । रङ्गकर्मीहरू दत्तचित्त भएर रङ्गकर्ममा होमिएका छन्, कोही निर्देशनमा त कोही अभिनयमा तल्लीन छन् तर विडम्बना ! लामो समयदेखि यसै क्षेत्रमा पसिना बगाएका कतिपय रङ्गकर्मी अझै पनि दर्शकको नजरमा पर्न सकेका छैनन् । बर्सौंको साधना भए पनि उनीहरूले आफ्नो बेग्लै पहिचान र वाह ! भन्ने खालको छवि निर्माण गर्न सकेका छैनन् । कसैलाई नाटकमा भूमिका नपाएको चिन्ता छ भने कोही मञ्चमा गरिने श्रमको न्यून पारिश्रमिकबाट सन्तुष्ट देखिँदैनन् । यही कारण कतिपयमा रङ्गमञ्च छाडेर चलचित्रको पर्दामा झुल्किने हुटहुटी जागेको छ, चाहे त्यो भूमिका छोटो नै किन नहोस् ।
रङ्गकर्मी सागर कार्कीका अनुसार थिएटरको यात्रा सहज छैन । यहाँ अभिभावकत्वको अभाव र जिम्मेवारीको बोझ बढी छ, जसले गर्दा तत्कालै सफलताको शिखरमा पुग्न कठिन हुन्छ । उहाँका अनुसार “मेरो काम र व्यक्तित्व देखिने समय अझै भएको छैन, मैले अझै धेरै सिक्न बाँकी छ ।” समय बिताउनु र कामसँगै एकाकार हुनु फरक कुरा रहेको उहाँको तर्क छ । हाल ओजस थिएटरमा सक्रिय कार्की आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाए विस्तारै कामको मूल्याङ्कन हुनेमा विश्वस्त छन् । “दर्शक कमाउनु भनेको आफ्नै कर्मको प्रतिफल हो,” उहाँ थप्नुहुन्छ, “रङ्गमञ्चमा कसैले प्लेटफर्म देलाभन्दा पनि आफ्नो कामले नै ठाउँ बनाउनु पर्छ । ५–६ वर्षमै केही पाइएन भनेर हार मान्नु रङ्गकर्म होइन ।”
अर्का रङ्गकर्मी सबिन कट्टेल रङ्गमञ्च र चलचित्र दुवैको आफ्नै विशिष्टता रहेको बताउनुहुन्छ । कलाकारले फरक फरक माध्यममा आफूलाई प्रस्तुत गर्न चाहनु स्वाभाविक प्रक्रिया हो । उहाँका अनुसार “कुनै पनि क्षेत्रमा सफलताको फल छिटै पाउन सकिँदैन । मेहनतसँगै कार्यशैली, सम्पर्क, सम्बन्ध र समयको ठुलो भूमिका हुन्छ ।” सफलताले समय खोज्ने विश्वास राख्ने कट्टेल अनुकूलता मिलेसम्म दुवै विधामा सक्रिय रहने इच्छा व्यक्त गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “काम पाउनु वा नपाउनु समयको कुरा हो । अहिले चलचित्रको व्यस्तताले गर्दा रङ्गमञ्चमा अलि कम देखिएको मात्र हुँ ।”
रङ्गकर्मी स्नेहा जोशी भने रङ्गमञ्चमा नाटक नगर्दैमा यसबाट टाढा भएको मान्न नहुने तर्क गर्नुहुन्छ । अध्ययनको निरन्तरता र चलचित्रको व्यस्तताले गर्दा केही समय दुरी बढेको भए पनि उहाँ मानसिक रूपमा रङ्गमञ्चकै समीप हुनुहुन्छ । “धेरै काम गर्ने इच्छा छ, तर समय र चित्तबुझ्दो भूमिका पाउन गाह्रो रहेछ,” उहाँ भन्नुहुन्छ । थिएटरको सङ्ख्या बढे पनि पुराना र स्थापित अनुहारकै वर्चस्व रहेकाले नयाँले अवसर नपाएको हुन सक्ने उहाँको बुझाइ छ । उहाँ थप्नुहुन्छ, “अहिले चल्तीका अनुहारलाई नै प्राथमिकता दिइन्छ । नयाँ र जिज्ञासु कलाकारले त केवल छिटफुट भूमिकामा चित्त बुझाउनुपर्ने अवस्था छ ।”
चलचित्र र रङ्गमञ्च दुवैमा सङ्घर्ष र निरन्तरता अनिवार्य छ । रङ्गमञ्चलाई कतिपयले चलचित्रसम्म पुग्ने सोपान पनि मान्छन्, किनकि यहाँ अभिनय निखारेका कलाकार नै अहिले चलचित्रमा सर्वाधिक रुचाइएका छन् तर रङ्गमञ्चमै अवसर नपाएर भौँतारिनेको सङ्ख्या पनि सानो छैन । पछिल्लो समय नाटकमा दर्शकको आकर्षण बढेसँगै चलचित्रको नाम चलेका कलाकार पनि मञ्चतिर आकर्षित भएका छन् । ठुला पर्दाका स्टारको मञ्चमा बढ्दो उपस्थितिका कारण कतै नवप्रवेशी र औसत कलाकारहरू ओझेलमा त परिरहेका छैनन् ? यो आजको रङ्गमञ्चको गम्भीर प्रश्न बनेको छ ।