काठमाडौँको चाबहिल, बौद्ध, जोरपाटी धेरै भिड हुने क्षेत्रमध्येमा पर्छन् । रत्नपार्कबाट छुट्ने गाडी गौशाला, चाबहिल, जोरपाटी हुँदै मूलपानी पुग्छ । यदि त्यो गाडी छुट्यो भने अर्को गाडी पाउन २० मिनेटदेखि आधा घण्टाभन्दा बढी नै कुर्नु पर्छ । जबकि अन्य माकलबारी, गोकर्ण, नाम्गेल, सुन्दरीजल जाने गाडीहरू प्रत्येक दुई मिनेटमा छुट्छन् । गाडीको यस्तो असमान वितरणले यात्रु अत्यन्तै मर्कामा परेका छन् । विद्यार्थीले विद्यार्थी कार्ड देखाएर सजिलै छुट नपाउने, पाए पनि भने जति नपाउने, थाहा नहुने यात्रुसँग बढी भाडा असुल्नेसम्म गरिन्छ । एउटै रुटमा धेरै गाडी नभएपछि वा गाडीबिच प्रतिस्पर्धा नभएपछि यात्रुले विभिन्न दुःख पाउँदो रहेछ । बेलुकी पख बौद्ध जोरपाटीबाट मूलपानी जाने गाडीमा उभिएर जानका लागि पनि ठाउँ पाउनै मुस्किल हुन्छ । पाइहाले पनि कोचिएर बस्नु पर्छ ।
महिला न पुरुष, केटा न केटी, बालबच्चा सबै कोचिएर उभिएका हुन्छन् । महिलाले मलाई नछोइ उभिनु वा नघिस्रीकन बाहिर निस्किनु पनि भन्न सक्दैनन् पुरुषलाई । अँध्यारो हुँदै गर्दा सबैलाई घर पुग्न हतार हुन्छ । अर्को साधन आउला र जाउँला भन्ने हुँदैन । केही दिनअघि बेलुकी ५ बजेतिर रत्नपार्कबाट नेपाल इन्जिनियरिङ कलेज जाने रुटको माइक्रोमा यति धेरै भिड थियो कि झ्याल पनि नखुल्ने माइक्रोमा हावा नछिर्दा एक जना उभिइरहेकी महिलालाई अक्सिजनको कमी भएछ । म बेहोस हुन आँटे, मलाई हार्ट अटेक आउन थाल्यो, श्वास फेर्न सकिन भनेर लड्न आँटिन् । हतार हतार उनलाई बाहिर निकालियो । एकछिन खुला हावामा श्वास लिएपछि उनी सामान्य बनिन् । खासमा मलाई पनि त्यस्तै गाह्रो भइरहेको थियो तर सिटमा बस्ने मौका पाएकाले होला मलाई रिँगटा भने आएन । चालकको लापरबाहीलगायत, बसको अवस्था, सडकको अवस्था तथा अन्य कारणले बढाएका सडक दुर्घटना नकार्न सकिँदैनन् ।
काठामाडौँमा खानेपानीको समस्या धेरै वर्षसम्म चलिरह्यो । मेलम्चीको पानी आएपछि केही राहत भए पनि सबै ठाउँमा यो सुविधा पुगेको छैन । रातिको २ बजे उठेर पानी भर्नुपर्ने समस्या अहिले पनि छँदै छ । सुन्दा पनि अचम्म लाग्ने नाम भने मूलपानी तर पानीको थोपा नआउने रहेछ मूलपानीमा । खानेपानी त मूलपानीमा छँदै छैन । एउटा सानो चार जनाको परिवारका लागि चाहिने पानीका लागि पनि बोरिङको पानी निकाल्नु प¥यो, जसका लागि १५० फिट पहिले खनेको ठाउँमा पानी सुकेपछि त्यसलाई २५० फिटसम्म खन्नु प¥यो । यसरी निकालिएको पानी त अन्य कामका लागि मात्रै हो । पिउन र खाना पकाउन त जारको पानी किनेर खानु पर्छ । खै कता छन् स्थानीय सरकार र
सरोकारवाला समूह ?
त्यसै गरी सहरमा रहेका सडकको अवस्था धुलाम्मे रहेको कसैबाट लुकेको छैन । पिच गरेको महिना दिन नपुग्दै उप्किने, जेब्रा क्रसिङ छ, छैन गरी मेटिएका, सडकबत्ती नबलेर ट्राफिकलाई हैरान बनाएको हामी सधैँ देख्दै आएका छौँ । कहीँ कतै मुख्य सडक पिच भए पनि भित्री सडक पिच हुन नसक्दा धुलाम्मे भएर विश्वकै एक नम्बरमा पर्ने गरी काठमाडौँको प्रदूषण बढाउने गरेको छ ।
चुनावसँगै बजारमा बढ्ने महँगीले झनै जनताको ढाड सेक्ने गरेको छ । सिजनमा किलोको तीस रुपियाँसम्म पर्ने काउलीको मूल्य यसपालि सयभन्दा तल झरेन । गोलभेँडाको मूल्य वर्षभरि नै उच्च रह्यो । तेल र चामलको मूल्यमा धेरै वृद्धि भएको गुनासो आएपछि सरकारले अनुगमन गर्ने जनाएको छ । चुनावको नाममा अहिले बजारमा ग्यास अभाव भएको छ । हरेक उपभोक्तालाई एक मात्र रहेको सिलिन्डर प्रयोग गर्न सुरु गरेपछि दिनदिनै चिन्ता बढ्दै जान्छ । जति फोन गरेर सोध्दा पनि ग्यास आएको छैन मात्रै भन्ने गरेका छन् पसलेले । कतिपय ग्यास बेच्ने पसलेले उसको पसलबाट अन्य खाद्यान्नको सामान पनि किन्ने हो भने मात्रै ग्यास दिने नत्र नदिने भनेको गुनासो पनि कतिपय प्रत्येक चोटि चुनावका बेला बजारमा अचाक्ली महँगी बढ्ने गरेको पाइन्छ तर समाधानका उपाय खोजिँदैनन् ।
दैनिक ज्याला मजदुरी गरेर स्वदेशमै पसिना बगाएर पेट पालिरहेका जनता पनि धेरै छन् । यस्ता बेथितिको अन्त्य हुन जरुरी छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सक्नु पर्छ । यातायात, मालपोतमा सेवाग्राहीले कुनै दुःख पाउनु हुँदैन । कर्मचारीले कार्यालयमा आफूलाई तोकिएको काम समयमै गर्नु पर्छ । यता, उता कागजात दौडाउने काम त स्वयम् सेवाग्राहीले गर्न सकिहाल्छन् नि ।
जेनजी विद्रोहपछि देशमा केही परिवर्तन आउला कि भनेर देश तथा विदेशमा बस्ने सबैलाई आशा पलाएको छ । यसपालिको चुनाव पनि यही प्रदर्शनको उपज हो । नयाँ बन्ने सरकारले देशबाट पहिलो नम्बरमा भ्रष्टाचारलाई नियन्त्रण गर्न ध्यान दिनु पर्छ । देशमा हुने गरेका अन्याय, अत्याचार तथा बेथितिलाई हटाउनु पर्छ । जनताले आफ्नो देशमा ससम्मान तथा खुसी साथ बाँच्न पाउनु पर्छ । बाँकी समय देश विकासमा लागउनु पर्छ ।