- महानगरका कक्षा ६ का छात्रालाई एचपिभी खोप, आठ हजारभन्दा बढी किशोरी लाभान्वित हुने
- पाठेघरको मुखको क्यान्सर घटाउन महानगरको सक्रियता: १० देखि १४ वर्षका किशोरीलाई खोप दिइँदै
- महानगरपालिकाभित्र एचपिभी खोप सुरु: खोपबाट लाभ लिन महानगरको अनुरोध
काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाभित्र आजदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ।
यो सेवा आगामी फागुन ६ गतेसम्म सञ्चालन हुन्छ। एचपिभीका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा प्रदान गरेको हो।
यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइन्छ। यस्तै, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले पनि यो खोप पाउने व्यवस्था मिलाइएको छ।
पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महिलामा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप प्रभावकारी रहेको बताउनुभयो।

‘लक्षित समूहलाई खोप सेवा प्रदान गर्न महानगरपालिकाले खोप केन्द्र सञ्चालनसम्बन्धी सूक्ष्म योजना बनाएर काम गरिरहेको छ। आन्तरिक तथा बाह्य समन्वय, सहकार्य एवं जनशक्ति र स्रोत साधनको उचित परिचालन गरिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘छात्राहरूलाई दिइने यो खोपलाई प्रभावकारी बनाउन विद्यालय परिवार र अभिभावकहरूलाई विशेष अनुरोध गर्दछु।’
त्यस क्रममा वडा नं २९ का अध्यक्ष कुश ढकालले एचपिभी खोप र यस्तै अन्य जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई अझ प्रभावकारी तथा सबैको पहुँचमा पुग्ने गरी विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो।
‘एचपिभी भाइरसका धेरै प्रकार छन्, तीमध्ये १६ र १८ ले महिलाको पाठेघरको मुखको क्यान्सर गराउन सक्छ,’ सङ्घीय सरकारको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले भन्नुभयो, ‘यो खोप क्यान्सर विरुद्ध नभई क्यान्सर गराउने भाइरसविरुद्ध हो। यो खोप लगाएपछि पाठेघरको मुखसहित छाला र घाँटीको क्यान्सरबाट बच्न सकिन्छ।’ यस वर्ष सरकारले देशभर करिब चार लाख छात्रालाई खोप दिने लक्ष्य राखेको छ।
गत वर्ष महानगरपालिकाले ३९ हजार ३१३ छात्रालाई यो खोप दिएको थियो। यस वर्षको लक्ष्यका विषयमा कुरा गर्दै महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, ‘महानगरपालिकाभित्रका कक्षा ६ मा ८ हजार ११० जना छात्राहरू अध्ययनरत छन्। विद्यालय नजाने तर खोप दिनुपर्ने करिब ५ सय किशोरी भएको अनुमान छ। यस वर्षका लागि हाम्रो लक्ष्य यही हो।’ शिक्षा अधिकृत इन्द्र दाहालका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि सबै विद्यालयसँग समन्वय गरिएको छ।
महानगरपालिकाले कम्तीमा ३० जना छात्रा भएका विद्यालयलाई एउटा खोप केन्द्र बनाएको छ। ३० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयका लागि संयुक्त खोप केन्द्र सञ्चालन हुनेछन्। खोप केन्द्रहरू वडा क्लिनिक र स्वास्थ्य प्रवर्द्धन केन्द्रले विद्यालयसँगको समन्वयमा निर्धारण गरेका हुन्।
खोप लगाएपछि पद्यकन्या विद्याश्रमकी छात्रा कृष्टिना चौधरीले भन्नुभयो, ‘घरतिर पाठेघरको मुखको क्यान्सरको कुरा सुन्दा डर लाग्थ्यो, विद्यालयमै खोप लिन पाउँदा धेरै खुसी लागेको छ।’
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन खोप, स्क्रिनिङ र उपचार गरी तीन चरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ। यी हरेक चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको योजना छ।
१० देखि १४ वर्षसम्मका किशोरीले एचपिभी खोप लगाउनु रोकथामको पहिलो उपाय हो। दोस्रो उपायका रूपमा ३० वर्षभन्दा माथिका महिलाले नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ भने तेस्रो चरणमा रोग पहिचान भएका महिलाको उचित उपचार हुनुपर्छ।
नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु हुने गरेको छ।
यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणबाट हुन्छ। संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने यो भाइरसको सङ्क्रमण २० वर्षसम्म रहिरहेमा क्यान्सरको रूप लिन सक्छ।