काठमाडौँ, माघ २४ गते । तेस्रो पटक आइसिसी टी–२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आइतबार बलियो इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्ने छ ।
नेपाल र इङ्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ ३:१५ बजे सुरु हुने छ । नेपालले विश्वकपका लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ ।
इङ्ल्यान्डसँगको खेल खेल्नका लागि टोली तयार रहेको नेपालका कप्तान रोहित पौडेलले बताउनुभएको छ । क्याप्टेन्स मिटमा कप्तान रोहितले नेपालले यसअघिका खेलमा टेस्ट राष्ट्रलाई हराएको स्मरण गर्दै यस विश्वकपमा पनि हराउन सक्ने क्षमता रहेको बताउनुभएको थियो ।
‘‘नेपालले विश्वकपमा लागि राम्रो तयारी गरेको छ । हामीले टेस्ट राष्ट्रलाई हराएका छौँ । टोलीका सबै खेलाडी उत्साहित छौँ । सबै खेलमा राम्रो नतिजा निकाल्दै सुपर आठमा पुग्ने छौँ,’’ रोहितले भन्नुभएको छ ।
विश्वकपमा नेपाल समूह समूह ‘सी’ मा रहेको छ । यस समूहमा बलियो टोली दुई पटकको विजेता इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड रहेको छ ।
भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ ।
नेपालसँगको खेलका लागि तयारी गर्दै इङ्ग्ल्यान्डका खेलाडी । तस्बिर : विकास द्वारे
नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।