• २३ माघ २०८२, शुक्रबार

काठमाडौँ सुधारको खाका अन्तिम चरणमा

blog

काठमाडौँ, माघ २३ गते । काठमाडौँ उपत्यकामा सडकको ट्राफिक अस्तव्यस्तता छल्न पैदल हिँड्दा पनि समयमा गन्तव्यमा पुगिँदैन । हरेक दिन भक्तपुरबाट काठमाडौँ जागिर खान आइपुग्नुहुने रञ्जित साखकर्मी भन्नुहुन्छ, “सवारीसाधनबाट छिटो पुगौँला भनेर सोच्नु दिनको समयमा महाभारतको युद्ध जित्नु जस्तै हो ।” जागिर खाएर बेलुका घर पुग्दा धुवाँ, धुलो र सडकको यात्राले घरका मान्छेसँग बोल्न पनि मन नलाग्ने साखकर्मी सुनाउनुहुन्छ ।

उता जोरपाटी–चाबहिल चोकको साँघुरो बाटोको हैरानी हरेक दिनजसो यात्रुले भोग्नु परेकै छ । नदी किनारका कोरिडोरको बाटो हुन वा राजधानी बाहिरिने र भित्रिने सडकमा जताबाट घुमे पनि जाममा परिहालिन्छ । बिनायोजना बसेको घनाबस्तीको उपत्यकाको भविष्य एउटा प्रदूषित हावा भरिएको बेलुन जस्तो देखिएको वातावरणविद् सुन्दर शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेको अवस्थामा भने गन्जागोल यातायात र प्रदूषणले भरिएको गहिरो खाल्डो हो, जहाँ श्वास फेर्दा श्वासै रोकिने अवस्थामा छ ।”

आमनागरिक र विज्ञका लागि मात्र होइन, नेपाल सरकारका लागि पनि उपत्यकालाई स्वच्छ र बस्नलायक कसरी बनाउने भन्ने कुरा लामो समयदेखि टाउको दुखाइ बन्दै आएको छ । यही टाउको दुखाइको अन्त्य गर्न अब काठमाडौँलाई सुन्दर, स्वच्छ र प्रदूषणरहित व्यवस्थित सहर बनाउने रणनीतिक गुरुयोजनासहितको विकास परियोजनाको खाका अन्तिम चरणमा पुगेको छ ।

जापान अन्तर्राष्ट्रिय विकास सहयोग नियोग जाइकाको सहयोगमा नेपाल सरकारले काठमाडौँको ऐतिहासिकता, सामाजिक, सांस्कृतिक तथा जैविक विविधतासमेत संरक्षण गर्दै काठमाडौँलाई सुन्दर र बस्नलायक सहर बनाउने भएको छ । जसका लागि रणनीतिक वातावरणीय गुरुयोजना बनाइने भएको छ । रणनीतिक गुरुयोजना सरकारले स्वीकृत गरेलगत्तै यसअघिदेखि नै तयारी चलेको जीवन्त र सांस्कतिक काठमाडौँ उपत्यकाका लागि दिगो सुरक्षित र समावेशी यातायात परियोजनालाई कार्यान्वयनमा लगिने बुधबार सरोकारवालाको दोस्रो बैठकमा जानकारी दिइएको छ । 

जाइकाका तर्फबाट रणनीतिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको नेतृत्व गर्नुभएका विज्ञ तोमाकी तानेवेले अहिले प्रारम्भिक चरणमा रहेको यो प्रतिवेदन देशका अन्य सहर व्यवस्थापनका लागि पनि मार्गनिर्देशक हुने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको सवालमा यहाँ संवेदनशील रहेको सात वटा विश्व सम्पदा नै हुन्, जसले आफ्नो क्षेत्रबाहेक २३८ हेक्टर क्षेत्रफल ओगटेको छ ।” जस अनुसार धार्मिक विश्व सम्पदामा पशुपतिनाथ, चाँगुनारायण मन्दिर, स्वयम्भू र बौद्धनाथको स्तूपासँगै वसन्तपुर, पाटन र भक्तपुर दरबार परिसर विश्व सम्पदामा सूचीकृत छन् । अन्य अनगन्ती मूर्त तथा अमूर्त सम्पदा, जैविक विविधता, धार्मिक, सामाजिक तथा जातीय संस्कार, संस्कृति धरोहरको संरक्षण गर्ने दायित्व यस रणनीतिको छ । 

काठमाडौँ उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्र रहेकाले त्यसको छुट्टै भावी प्रभाव सम्भाव्यतासँगै आवश्यक सामाजिक तगा तथ्यगत जानकारी सङ्कलनका क्रममा रहेको नेपालका तर्फबाट विज्ञ अभिषेक बिसी औँल्याउनुहुन्छ । भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री डा. माधवप्रसाद चौलागाईंले रणनीतिक वातावरणीय मूल्याङ्कनसहित कार्यान्वयनमा जाने यो परियोजना काठमाडौँ उपत्यकाको मात्र नभएर देशकै भविष्य रहेको औँल्याउनुभयो । 

उहाँले नेपालको बलियो विकास साझेदारका रूपमा जापान सरकार र उसको सहयोगी निकायका रूपमा जाइकालाई पाएकाले त्यसको आर्थिक, प्राविधिक तथा प्राज्ञिक सबै खालको भरपूर लाभ उठाउँदै सरोकारवाला निकायले साथ दिन आग्रह गर्नुभयो । 

काठमाडौँ आफैँमा नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थासँगै सात वटा विश्व सम्पदा रहेको सहर भएकाले तिनलाई जोगाउँदै यहाँको वातावरणीय सुधारमा अग्रसर हुन जरुरी रहेको उहाँले औँल्याउनुभयो । 

जाइकाका तर्फबाट विज्ञ टोलीका प्रमुख हिदियो सुजीले सन् २०१७ पछि नेपालको विकास पद्धतिमा साँच्चैको परिवर्तन देखाउने रणनीति र परियोजनाका रूपमा अघि सारिएको जानकारी दिनुभयो । उपप्रमुख वतारु ओजानोले परियोजनाको हालसम्म भएका प्रगति विवरणसँगै उपत्यकाको प्रमुख सडकमार्ग विस्तार तथा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्डरग्राउन्ड सुरुङमार्ग, सार्वजनिक सवारी, बसपार्क व्यवस्थापन, काठमाडौँ, भक्तपुर र ललितपुर दरबार क्षेत्र जोड्ने सम्पर्क सञ्जाल, नदी किनारका सडक विस्तारलगायत प्रमुख १८ वटा एकीकृत परियोजनामा काम हुने जानकारी दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव केशवकुमार शर्माले उपत्यकाको दिगो र वातावरणमैत्री विकासका लागि रणनीति र विकास परियोजना दुवै निकै महत्वपूर्ण रहेको प्रस्ट पार्नुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसीले अहिलेसम्म इआइएको भरमा मात्र विकास निर्माणका काम हुँदै आएकामा यो रणनीति नेपालको विकासका लागि कोसेढुङ्गा साबित हुने दाबी गर्नुभयो । वातावरण ऐन र नियमावली नबिर्सन अनुरोध गर्नुभयो ।