सन् २०३५ मा क्षयरोगको अन्त्य गर्ने
काठमाडौं, असार ३२ गते । नेपालमा मृत्युको मुख्य कारणमध्ये क्षयरोग दशौं नम्बर पर्ने अध्ययनहरुले देखाएको छ । नेपालमा प्रत्येक वर्ष १७ हजार बिरामी क्षयरोगको कारणबाट मृत्यु हुनेगरेको अनुमान गरिएको छ ।
केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले वि स २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
क्षयरोग प्रिभेलेन्स सर्वेक्षण र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कको आधारमा गरिएको अध्ययनमा प्रत्येक वर्ष प्रतिलाख जनसङ्ख्यामा ५८ जनाको मृत्यु हुनेगरेको देखाएको छ । नेपालको आधाजसो जनसङ्ख्यामा क्षयरोगको सङ्क्रमण रहेको डा. ठाकुर बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९नेपालमा २८ हजार ६७७ क्षयरोगका बिरामीहरु राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएका छन् । डा. ठाकुरका अनुसार ४१ हजार पाँचसय बिरामीहरु अझै उपचारको दायरा बाहिर छन् । नेपालमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर भौगोलीक क्षेत्रअनुसार फरक फरक रहेको डा. ठाकुरले बताउनुभयो ।
बिरामी पत्ता लाग्ने दर हिमाली क्षेत्रको उत्तरी भेगमा कम र तराई क्षेत्रको दक्षिणी भेगमा बढी पाइएको छ । हालै परिमार्जित नयाँ क्षयरोग हुने दर र बिरामी पत्ता लागेको दरको अनुपात हेर्दा करिब ५४ प्रतिशत बिरामीलाई उपचारको दायरमा ल्याउनुपर्ने डा. ठाकुरले बताउनुभयो । सरकारले सन् २०३५ मा क्षयरोगको अन्त्य गर्ने लक्ष्य लिएको छ ।
क्षयरोग अत्य गर्न रणनीति
क्षयरोग मुक्त नेपाल निर्माण गर्न केन्द्रले वि.स. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पन्च वर्षिय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ । २०७७/७८ को २३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा यो दरलाई आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा १८१ प्रति लाख जनसङ्ख्यामा पुर्याउने र मृत्युदरलाई आर्थिक वर्ष २०७७/७८ को ५८ प्रति लाख जनसङ्ख्यामा आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा २३ प्रति लाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०९१/९२ सम्ममा क्षयरोगको अन्त्य र आर्थिक वर्ष २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने । क्षयरोगका कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार शुन्यमा झार्ने लक्ष्य लिएको छ । रणनीतिमा क्षयरोग कार्यक्रममा स्वास्थ्य प्रणालीको थप सुदृढीकरण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँचमा बृद्धिगरी गुणस्तरीय क्षयरोग सेवा प्रदान गरिने, क्षयरोग मुक्त नेपाल अभियानमा समुदायको सङ्लग्नता र स्वामित्वमा सुदृढीकरण गरिने जनाइएको छ ।
क्षयरोग कार्यक्रमको अनुगमन प्रणालीलाई सुदृढीकरण गरिनेछ । प्राकृतिक तथा अन्य विपदको समयमा क्षयरोग कार्यक्रमको निरन्तरताका लागि योजनाको विकास गरी एकीकृत स्वास्थ्य प्रणालीमार्फत कार्यान्वयन भएको सुनिश्चित्ता गरिने बताइएको छ । क्षयरोग प्रयोगशाला सेवाको सुदृढीकरण गरिने पनि उल्लेख गरिएको छ । डीएस डीएआर टिबीको बिरामी पत्ता लगाउने दरमा वृद्धि गरिने बताइएको छ ।
क्षयरोग बिरामीको उपचार सफलता दरमा वृद्धि गरिनेछ । क्षयरोग रोकथाम थेरापीको सेवालाई विस्तार गरिनेछ । स्वास्थ्य संस्थाहरुमा क्षयरोग सङ्क्रमण नियन्त्रणका उपायहरुको सुदृढीकरण गरिनेछ रणनीतिमा उल्लेख गरिएको छ ।
डा. ठाकुरका अनुसार क्षयरोग सेवामा वहुक्षेत्रीय अवधारणालाई लागू गर्ने र क्षयरोगको विभिन्न कोमोर्विड अवस्थामा हुने क्षयरोगको उच्च जोखिमलाई सम्बोधन गरिनेछ । क्षयरोगका सेवाको प्रभावकारी रुपमा व्यवस्थापन गर्न निजी तथा गैह्र सरकारी क्षेत्रको अर्थपूर्ण सहभागिताको सुनिश्चित्ता गरिने डा. ठाकुरले बताउनुभयो ।
क्षयरोग के हो ?
चिकित्सकका अनुसार क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किाटाणुबाट लाग्ने सङ्क्रमक रोग हो । यसले विशेषरुपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरुमा पनि यो रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।
क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकाले बरामीले श्वास फेर्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ । क्षयरोग महिलामाभन्दा पुरुषमा बढी मात्रामा देखिने गर्छ । जसमा आर्थिक रुपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्छन् ।
लगातार २ हप्ता बढी सयमसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुन् र साँझपख मन्द ज्वरो आउनु क्षयरोका मुख्य लक्षण हुन । समयमा उपचार नगरेमा मृत्यु हुनसक्ने चिकित्सकहरु बताउँछन् ।