• २६ मङ्सिर २०८२, शुक्रबार

विश्व पर्वतीय दिवस

हिमाली जीवनमा बढ्दै कहर

blog

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेगाउँ ।

हामीले न्यून कार्बन उत्सर्जन गर्दा पनि बर्सेनि बाढीपहिरोसँगै हिमाली भेगमा लगातार हिमताल विस्फोटको सामना गरिरहेका छौँ, यसको दीर्घकालीन असर विश्वलाई नै पर्छ भनेर बुझाउन जरुरी छ ।

काठमाडौँ, मङ्सिर २६ गते । सर्वोच्च शिखरसहित हिम पर्वतमाला नेपालमा हुनु गौरवको विषय हो । पछिल्लो समय जलवायु परिवर्तनको असरसँगै बढ्दो तापक्रमले हिमाली जनजीवन कहरमय बन्न थालेको छ । बढ्दो तापक्रमसँगै हिमाली गाउँ खाली हुने अवस्थामा पुगेको दुःखेसो स्थानीयवासीको छ । 

तातो बढेर हिमालमा हिउँ रित्तिँदा तल्लो भेगमा हिमपहिरो र हिमबाढीले स्थानीयको बास उठ्दै जान थालेको छ । नेपालको हिमाल र हिमाली जनजीवनको संरक्षणका लागि बलियो पहल नहुँदा हिमाली भेगका मानव बस्ती खाली हुन लागेका हुन् । गत साल हिमबाढी आएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा हिमताल विस्फोटपछि आएको बाढीले थामे गाउँका बासिन्दा विस्थापनको सँघारमा अलमलिइरहेका छन् । हिमालमा तातो बढ्दै जाँदा बर्सेनि गाउँको माथिल्लो भेगमा साना हिमताल जन्मिरहेका छन् ।

गाउँपालिका उपप्रमुख टासी ल्हामु शेर्पाका अनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गर्दैगर्दा अर्को वर्षको बर्खामा आएको बाढीले थप पाँच घर क्षतिग्रस्त बनाएको दुःखेसो पोख्नुभयो । थामेखोलाले धार परिवर्तन गर्दै प्राधिकरणले सुरक्षित क्षेत्र घोषित गरेको स्थानमै यसपालि थप क्षति पु¥याएको जानकारी उहाँले दिनुभयो । 

उक्त क्षेत्रमा लामो समयदेखि जलवायु परिवर्तन र हिमाली फोहोर सङ्कलनको काम गर्दै आउनुभएकी याङ्जी शेर्पाले प्रख्यात शेर्पाको वासस्थान थामे खाली हुने अवस्थामा पुगेको औँल्याउनुभयो । उहाँका अनुसार एकातिर सन् १८८५ मा विस्फोट भएको डिक्छो तालको त्रास छ, अर्कोतिर इम्जा तालको जोखिम उस्तै छ । उहाँले भन्नुभयो, “बिचको सुरक्षित भनिएको थामेगाउँमा साना हिमताल फुटेर बारम्बार बाढीले सताउन थालेपछि हामी कहाँ जाने, कतै जाँदा पनि त्यहाँ सुरक्षित देखेका छैनौँ ।” हिमरेखाभन्दा माथि ३,८०० मिटरमाथि उचाइमा रहेको थामेगाउँसहित आसपासका गाउँमा समेत झन्डै नौ हजार जनसङ्ख्या छ । थामे मात्र होइन, आसपासका अन्य गाउँपालिका पनि हिमताल विस्फोटको उच्च जोखिममा छन् । त्यहाँबाट ८२ किलोमिटर तल मात्र जल तथा मौसम विज्ञान विभागको जलमापन केन्द्र रहेको छ । 

औसत बढीमा नौ डिग्री सेन्टिग्रेड तापक्रम रहने थामेमा ताल फुट्दाताका झण्डै १५ डिग्री सेन्टिग्रेड अधिकतम तापक्रम पुगेको अनुमान छ । जसका कारण बढेको साना हिमतालमा सुक्खा पहिरो खस्दा विस्फोटको अवस्था आएको अध्ययन प्रतिवेदनले देखाएको छ । त्यहाँ मात्र होइन, हुम्लाको लिमी उपत्यका पनि हिमताल विस्फोट र हिमबाढीका कारण खाली हुने अवस्थामा पुग्दै छ । 

हुम्लाका सामाजिक अभियन्ता छितुप लामाले मौसमी र बेमौसमी बाढीको चपेटामा हिमाली भेगका बासिन्दा पर्न थालेको बताउनुभयो । बिहीबार विश्व पर्वतीय दिवस मनाइरहँदा काठमाडौँमा हिमाली पीडा कहँदै स्थानीयले नेपालको हिमालसँगै हिमाली जनजीवनको सुरक्षा गर्न सरकारसँग माग गर्नुभयो । 

दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले ब्राजिलमा भएको संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रिय अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन (कोप–३०) को समीक्षासँगै हिमालको संरक्षणमा नेपालले लिनुपर्ने भावी कार्यदिशाका बारेमा छलफलको आयोजना गरेको हो ।

विश्वलाई उत्तरदायी बनाउँ

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले हिमालको संरक्षणकारी भूमिकाको नेतृत्व नेपालले लिने गरी सामूहिक पहलको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले न्यून कार्बन उत्सर्जन गर्दा पनि बर्सोनि बाढीपहिरोसँगै हिमाली भेगमा लगातार हिमताल विस्फोटको सामना गरिरहेका छौँ, यसको दीर्घकालीन असर विश्वलाई नै पर्छ भनेर बुझाउन जरुरी छ ।” 

कोप–३० मा नेपालले यस पटक हिमालको एजेन्डालाई मुखरित गर्न सफल भएको औँल्याउँदै उहाँले आगामी वर्ष सोही आधारमा जर्मनीमा हुने विश्व हिमाल सम्मेलनका लागि अहिलेदेखि नै बलियो तयारी गर्न सुझाउनुभयो । युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले हिमाल मात्र हिमाल नभएर जीवनको आधार भएकाले संरक्षण गर्दा नागरिकको जीवनस्तरलाई भुल्न नहुने औँल्याउनुभयो । त्यसै गरी स्विस दूतावासका प्रतिनिधि अन्तानिया फल्कले नेपालले हिमाल संरक्षणका लागि नीतिगत प्रस्टतासहित अघि बढ्न सुझाव दिनुभयो । 

वन तथा वातावरण सचिव राजेश मिश्रले पानी, खाद्यान्न र जीवनका लागि हिउँ किन जरुरी छ भन्ने सत्रमा प्रमुख वक्ताका रूपमा हिमाल र जीवनसँगै अघि बढेको प्राचीन सभ्यतालाई बिर्सन नहुने उल्लेख गर्नुभयो । वक्ताका रूपमा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठ, विज्ञ डा. रिजनभक्त कायस्थलगायतले हिमाली वातावरणले सिर्जना गरेको जटिलतासँग जुध्न आर्थिक तथा प्राविधिक स्रोतसाधनसँगै दीर्घकालीन रणनीतिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।