• १९ मङ्सिर २०८२, शुक्रबार

हिउँदमा कम वर्षा र बढी न्यानो

blog

काठमाडौँ, मङ्सिर १९ गते । देशव्यापी रूपमा चिसो र शीतलहर सुरु हुँदै गर्दा यो वर्षको हिउँदमा कम वर्षासहित तातो हुने प्रक्षेपण आएको छ । असोज र कात्तिकमा लगातारको वर्षाले चिसो छिटो सुरु भए पनि हिउँदको अवधिभरमा भने सरदरभन्दा कम वर्षा हुने हुँदा तापक्रम बढी रहने बताइएको हो । 

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ गतेसम्मको प्रक्षेपण गर्दै यस्तो जानकारी दिएको हो । विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पुसमा पानी पार्ने गरी अहिलेसम्म पनि नेपालमा पश्चिमी वायुको आगमन राम्रो छैन । न्यूनचापीय क्षेत्र र चक्रवातको पनि विकास हुन नसकेको उहाँले बताउनुभयो । यो हिउँदभरि कम वर्षा हुने पहिलो आधार बनेको दाबी उहाँकोे छ । 

विभागले सार्वजनिक गरेको हिउँदे प्रक्षेपण अनुसार ढिला गरी आउने पश्चिमी वायुले अन्यत्रभन्दा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर पश्चिमी भूभागमा भने सरदरभन्दा कम वा सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना देखाएको छ । अन्यत्र सबै प्रदेशमा सरदरभन्दा कम वर्षा हुने सम्भावना बढी रहेको जनाइएको छ । 

उहाँका अनुसार न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहँदा यो वर्षको हिउँद गत वर्षको तुलनामा न्यानो हुने छ । तापव्रmम वृद्धिको अवस्थाको विश्लेषण हेर्दा अधिकतम र न्यूनतम दुवै बढ्दा यो वर्ष हिमाली भेगतिर पनि बढी तातो भएर हिउँ बढी पग्लने सम्भावना छ । 

विभागका अनुसार विश्व मौसम सङ्गठनको विश्वव्यापी तथा क्षेत्रीयस्तरको जलवायु सूचनाको विश्लेषण अनुसार पनि यो वर्ष नेपाललगायत दक्षिण एसियाका केही देशमा हिउँद तातो रहने देखाएको छ ।

नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो प्रणालीसँगै हिन्दमहासागरमा विकसित हुने हिउँदे प्रणालीको विश्लेषणले पनि कम वर्षा र हिउँद तातो हुने सम्भावना बलियो देखाएको छ ।

अहिले पनि प्रशान्त महासागरमा जलवाष्पको प्रणाली लानिना अर्थात् वर्षा कम गराउने अवस्थामा छ । साथै हिउँद अवधिभर लानिनाको अवस्थै रहने अनुमान बलियो बनेको छ । त्यो अवस्था प्रिमनसुनको सुरुवातसँगै तटस्थतर्फ सर्ने अनुमान गरिएको विश्वव्यापी प्रारूपले अनुमान गरेका छन् ।

हिन्दमहासागरमा विकसित हुन प्रणाली पनि वर्षा गराउनेतर्फ सकारात्मक नभई नकारात्मक अवस्थामा छ । त्यो पनि हिउँद अवधिको अन्त्यतिर मात्र तटस्थ अवस्थातिर अग्रसर हुने अनुमान विश्वका मौसम प्रणालीले गरेका छन् । 

गत वर्ष पनि हिउँदमा सरदरभन्दा कम वर्षा र तातो भएको थियो । प्रिमनसुनदेखि सक्रिय भएको वर्षा मनसुनसम्मै लगातार चलेको थियो । यो पनि वर्ष पनि हिउँदमा कम वर्षा हुँदा प्रिमनसुन र मनसुनमा अधिक वर्षा हुने सम्भावना बढेको मौसमविद्ले औँल्याएका छन् ।