• १३ कात्तिक २०८२, बिहिबार

पर्न थाल्यो ‘मोन्था’को असर

blog

‘मोन्था’ चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौँ, कात्तिक १३ गते । बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को असर नेपालमा पर्न थालेको छ । अरेबियन सागरमा उत्पन्न यस चक्रवातले नेपालको हिमालमा कात्तिक महिनामै हिमपात गराएर असर पर्न सुरु भएको हो । मोन्था चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले उक्त चक्रवात भारतको आन्ध्र प्रदेशमा जमिनमा खसेसँगै त्यसले बलियो न्यूनचापीय प्रणालीमा परिणत भएर बुधबारदेखि नेपाल प्रवेश गरेको प्रस्ट पारेको छ । उक्त चक्रवातले भारतका विभिन्न क्षेत्रमा भारी वर्षासहित आँधीहुरी सिर्जना गरेर जनजीवन कष्टकर पारिरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार यस चक्रवातको असरले नेपालको पूर्वदेखि गण्डकीसम्मको उच्च हिमाली भेगका केही स्थानमा बाक्लो हिमपात गराउनुका साथै तल्ला भेगमा भीषण वर्षा गराउने सम्भावना रहेको छ ।

उहाँले भन्नुभयो, “अन्य भूभागमा सबैतिर बिहीबार र शुक्रबार दिनभरि मध्यमसम्मको वर्षा गराउने छ भने शनिबार आधा दिनसम्म चक्रवातको असर बलियो रहने देखिएको छ ।” शनिबार मध्याह्नपछि भने चक्रवातको असर कमजोर हुँदै मध्य भेगबाट पूर्व हुँदै सामान्य हुने जानकारी मौसमविद् महर्जनले दिनुभयो । 

महाशाखाका अनुसार नेपालको लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा निरन्तर जसो वर्षा हुने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली भेगमा हिमपातसँगै एकाध स्थानमा भीषण वर्षा पनि हुने सम्भावना छ । 

ती प्रदेशमा दैनिक जनजीवन, पर्वतारोहणसँगै कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले मौसमको अवस्था बुझेर मात्र गतिविधि गर्न विभागले अनुरोध गरेको छ ।  चक्रवातको असरले वर्षा हुँदा आगामी तीन दिन बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाब उच्च हुँदै सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ । त्यस्तै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने साना नदीनालाहरूमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाहीलगायत जिल्लामा बाढीसँगै डुबानको खतरा कायम रहने भएकाले सचेत रहन भनिएको छ । त्यस्तै कोशी प्रदेशका साना नदीहरूमा आकस्मिक बाढी बढ्ने, पहिरो जाने सम्भावना भएकाले चनाखो रहन अपिल गरिएको छ । चक्रवातको असर नेपालमा अधिक हुन सक्ने सम्भावनालाई ध्यान दिँदै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षेत्रका जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्राचार गरेर जिउधनको सुरक्षाको तयारी गर्न निर्देशन दिएको छ ।  

प्राधिकरणले कोशी प्रदेशका सम्भावित प्रभावित जिल्लाहरूको वर्गीकरण गरेर सुरक्षाको काम थालेको जनाएको छ, जस अनुसार कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा पनि तयारी थालिएको छ । त्यस्तै बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीमा पनि आवश्यक तयारी गरिएको छ ।

प्राधिकरणले आगामी तीन दिन अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । त्यस्तै डुबान हुन सक्ने बस्ती र नदीकिनारका बासिन्दालाई वर्षा सुुरु भएपछि उच्च र सुरक्षित स्थानमा जान भनिएको छ । 

धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याएर सुरक्षित राख्न भनिएको छ । साथै सरकारका तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।