• २१ असोज २०८२, मङ्गलबार

जलविद्युत् र सिँचाइतर्फ करोडौँको क्षति

blog

इलामस्थित क्षतिग्रस्त जोगीमाई खोला हाइड्रोपावर ।

काठमाडौँ, असोज २० गते । गत शुक्रबारदेखि परेको अविरल र भीषण वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना, वितरण तथा प्रसारणलाइन, सिँचाइका आयोजनाका बाँध तथा नहरमा करोडौँ रुपियाँ बराबरको क्षति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन गरी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्नुभएको हो ।

जानकारी अनुसार मुलुकका विभिन्न भागमा एक हजार पाँच सय मिटर तटबन्ध कटान भएको छ । यसबाट कम्तीमा १० करोड रुपियाँ बराबरको क्षति भएको उहाँको भनाइ छ । बाढी घटेपछि यकिन क्षतिको विवरण सङ्कलन हुने घिसिङले जानकारी दिनुभयो । बाढी आउने पूर्वसूचनाका आधारमा नहर जोगाउन समयमै बाँध खोलिएकाले ठुलो क्षति हुन नपाएको घिसिङले जानकारी गराउनुभयो । “कोशी र मधेश प्रदेशमा वर्षा अधिक भएका कारण सोही क्षेत्रमा बढी क्षति भएको छ,” मन्त्री घिसिङले भन्नुभयो, “सिँचाइ प्रणालीको बाँध क्षेत्रमा बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति हुन पाएन ।”

सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ । जलसतह घटेपछि मात्रै यसको यकिन विवरण प्राप्त हुने उहाँले जानकारी गराउनुभयो ।

विवरण अनुसार कन्काई नदीले गौरीगन्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब दुई सय मिटर तटबन्धन कटान भएको छ । झापा गाउँपालिका–२ को कुवाडीमा दुई सय मिटर तटबन्ध पनि कटानमा परेको छ । 

यसै गरी मेची नदीले विभिन्न ठाउँका स्पर बगाएको छ भने कमला नदीको पूर्वी किनार, सिराहा–१७, पटेरुवाको तटबन्धमा करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ । रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाएको छ । बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई दुई सय हेक्टर धान तथा घरगोठ डुबानमा परेको छ । त्यस्तै महोत्तरीमा रातो नदीले तटबन्ध बगाउँदा आठ करोड रुपियाँ बराबरको क्षति भएको जनाइएको छ ।

२० जलविद्युत् आयोजनामा क्षति

बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ । क्षति अझै धेरै हुन सक्ने इप्पानले जनाएको छ । क्षति भएका कुल २० मध्ये १५ जलविद्युत् आयोजना इलामका छन् । निर्माण सम्पन्न आयोजना बन्द हुँदा ११३.३६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । क्षति हुनेमा सबैभन्दा ठुलो २२ मेगावाटको माइखोला आयोजना रहेको छ । आयोजनामा इन्टेक, पावर हाउस, कल्भर्ट डिसेन्डरलगायतका पूर्वाधारमा क्षति भएको इप्पानले जनाएको छ । आयोजनामा कति रकमको क्षति भयो भन्ने यकिन हुन बाँकी नै छ । त्यसै गरी निर्माणाधीन आयोजनामा क्षति पुगेकामध्ये पाँचथरमा दुई, इलाममा एक र सिन्धुपाल्चोकमा दुई छन् । प्रवेश मार्ग, मुहान संरचना, विद्युत्गृह, क्याम्पमा क्षति तथा निर्माण सामग्री बगाएका कारण यी छ आयोजनाको उत्पादन तालिकामा असर पर्ने भएको छ ।

‘विद्युत् आपूर्ति नियमित हुन्छ’ 

बाढीपहिरो र बर्सातका कारण विभिन्न प्रसारण तथा वितरण लाइनमा क्षति पुगेकाले विभिन्न स्थानमा विद्युत् आपूर्ति रोकिन पुगेको र आइतबार बिहानदेखि नै मर्मतसम्भार सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । विशेष गरी ललितपुरको दक्षिणी क्षेत्र र पूर्वी नेपालमा पोल ढलेको र मर्मतका लागि प्राविधिकले काम सुरु गरिसकेकाले विद्युत् आपूर्ति तुरुन्तै नियमित हुने जानकारी उहाँले दिनुभयो ।