काठमाडौँ, असोज ५ गते । चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो ।
उपभोक्ताको भिड बढ्दा बजारमा अनियमितता हुन नदिने अनुगमन भने सुस्ताएको छ । जेनजी आन्दोलनका कारण सरकारी संरचनाले अझै पनि राम्ररी काम गर्न सकेको छैन । जेनजी प्रदर्शनअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पाँच/छ वटा समूहले दैनिक ३०/३५ वटा व्यापारिक प्रतिष्ठानको अनुगमान गरेकोमा २३ गतेयता देखिने गरी अनुगमन गर्न सकेको छैन । विभागले आपूर्ति प्रणाली चुस्त दुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुको अभाव नरहेको दाबी गर्दै आएको छ ।
विभागका महानिर्देशक रोशन ज्ञवालीले जेनजी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई ध्यानमा राखेर आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताउनुभयो । जेनजी प्रदर्शनपछि सशङ्कित र त्रसित बनेका व्यापारीमा विभाग नेतृत्वको बजार अनुगमनले नकारात्मक असर नपर्ने गरी बजार नियाल्ने काम गरिरहेको उहाँको भनाइ छ । व्यापारीलाई जरिबाना र कारबाही गर्नुलाई मात्रै बजार अनुगमन भन्ने बुझ्नु गलत भएको भन्दै उहाँले भन्नुभयो, “आपूर्ति अवस्था र वस्तुको उपलब्धताबारेमा राम्रो गरी बुझेका छौँ ।”
दैनिक उपभोग्य लगायतका सामग्रीको आपूर्तिको व्यवस्थापनलाई अझ सहज पार्न विभागले दैनिक जसो निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घसँग, नेपाल खुद्रा व्यापार सङ्घ, थोक व्यापार सङ्घसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ । विभागले भन्सार नाकाबाट नेपालमा आउने सामानको विगतको आयातको अवस्था र हाल आयातको अवस्थालाई विश्लेषण गरेको जनाएको छ ।
निजी क्षेत्रबाहेक साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सरकारले ती कम्पनीले सहुलियत दिएबापत शोधभर्ना गर्ने गरी दैनिक उपभोग्य वस्तु बिक्रीको प्रवर्धन गरेको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका महासचिव आमूलकाजी तुलाधरले हाल खाने तेलबाहेक अन्य वस्तुको मूल्य नबढेको स्पष्ट पार्नुभएको छ । उहाँले खानेतेल मूल्य बढाउनुपर्ने कारणबिना नै मूल्य बढाउने काम भएकाले यसमा नियमनकारी निकाय सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । केही उपभोक्ताले आवश्यकभन्दा बढी वस्तु खरिद गरेर मौज्दात राख्ने क्रम बढेकाले यस विषयमा सचेतनाको आवश्यकता रहेको महासचिव तुलाधरको भनाइ थियो ।
विभागका अनुसार बजारमा सूचनाका आधारमा कतै अवाञ्छित गतिविधि भए अनुगमनमा जाने तयारी छ । कार्ययोजना अनुसारको अनुगमनमा जाने, त्यस्ता खालका अवाञ्छित गतिविधि भएको देखिए उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । विभागका अनुसार विभागको नेतृत्वको एकीकृत बजार अनुगमन छिट्टै हुन्छ । विभाग नेतृत्वको एकीकृत रूपमा हुने बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर नापतौल विभाग, जिल्ला प्रमुख कार्यालय, पालिकालगायतका निकायसँगको समन्वयमा आउँदो सातादेखि बजार अनुगमन गर्ने विभागले जनाएको छ ।