• ७ जेठ २०८१, सोमबार

नचलाऊ चुरे, खोज खानी

blog

बाबुराम देवकोटा 

रानीबास (सिन्धुली) असार ४ गते । सिन्धुलीको कुल वन क्षेत्रमध्ये आधाभन्दा धेरै चुरे क्षेत्रमा पर्छ । अत्यन्त कमजोर भू–बनोटका कारण चुरे क्षेत्रबाट हुने भूक्षयबाट बर्सेनि यस क्षेत्रमा सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।

चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउनासाथ सबै बग्ने गरेको कमलामाई नगरपालिका–१३, रानीबास निवासी शिक्षक पुजन बख्रेल बताउनुहुन्छ । वन पैदावार, ढुङ्गा, बालुवा र गिट्टीका लागि चुरे क्षेत्र उपयोग गर्दा कमलाखँुज र मरिणका फाँट बगर बन्दै गएको उहाँको ठम्याइ छ । 

शिक्षक बख्रेलले भन्नुभयो, “ढलापडा सुक्खड खडाका नाममा चुरे क्षेत्रको वन मास्दै लाने क्रम अझै रोकिएको छैन । त्यसमाथि चुरे दोहन गरी ढुङ्गा, बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योग ठडिन थालेका छन् ।” उहाँका अनुसार कमलाखुँज क्षेत्रको चुरे खहरेबाट दशकअघि अवैध रूपमा ढुङ्गा सङ्कलन गरी भारत निकासी गरेको मार त्यस क्षेत्रका स्थानीयवासीले अहिलेसम्म बेहोर्दै छन् ।

चुरे जङ्गलबाट निस्किएका खहरेबाट ढुङ्गा उत्खनन गरी कमलामाई नगरपालिकाको भिमानमा सङ्कलन गरेर दशकअघि भारत निकासी भएकोमा स्थानीयवासीको विरोधपछि त्यो क्रम रोकिएको थियो । “राज्यलाई प्राकृतिक स्रोत बिक्री गरेर आम्दानी लिन मन भए वातावरणीय प्रभाव मूल्याङ्कन गरी खानी खोजेर वैधानिक रूपमा बिक्री वितरण गरे हुन्छ नि,” शिक्षक बख्रेलले भन्नुभयो, “चुरे क्षेत्र चलाएर भावी पुस्ताले समेत धिक्कार्ने काम गर्नुहुँदैन ।”

सिन्धुलीका सांसद गणेश पहाडी तराईको जिल्लासँग सिमाना जोडिएको चुरे जङ्गल संरक्षण गर्न नसक्ने हो भने मधेश प्रदेशको भविष्यसमेत अन्धकार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरे क्षेत्र कलिलो पहाड हो । मानवले नै प्रकृतिलाई दोहन गर्ने काम गरिरहेका छन् । सडक निर्माणका नाममा डोजर र एस्काभेटर चुरे क्षेत्रमा चलाउँदा कलिलो पहाड क्षत्विक्षत् भइरहेको छ ।” 

उहाँका अनुसार चुरे क्षेत्र पानीको पुनर्भरण क्षेत्र हो । अवैध प्राकृतिक दोहनले चुरे क्षेत्रमा पानी पुनर्भरण हुन छाड्दा तराईका जिल्लामा जमिनमुनि पानी आउन छाडेको छ । चुरे क्षेत्रको संरक्षण गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको काँधमा जिम्मेवारी आएको छ । 

दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी दनुवार अवैध चुरे दोहनले दुधौली नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ९, १० र ११ का हजारौँ बिघा उर्वर जमिन बगरमा परिणत भइसकेको बताउनुहुन्छ । 

“कमला नदी कटान क्षतिको न्यूनीकरण गर्न दुधौली नगरपालिकालाई चुनौती छ,” प्रमुख दनुवारले भन्नुभयो, “किसानको हातमा लालपुर्जा छ, जमिन छैन । आफूले खती गर्दै आएको जमिनमा अहिले कमला नदी बगिरहेको छ ।”

डिभिजन वन कार्यालयको तथ्याङ्कमा जिल्लाको कुल क्षेत्रफलको ६५ प्रतिशत वन क्षेत्र भएको र त्यसमध्ये आधाभन्दा बढी चुरे क्षेत्रमै रहेको छ । त्यसको ९० प्रतिशत साल जातका रुख भएकाले पनि तस्करको आँखा त्यसतर्फ लागेको छ । जिल्लाको दुई लाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्रमध्ये एक लाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्छ । त्यसमध्ये एक लाख चार हजार ९९७ हेक्टर वन क्षेत्रमा पर्छ भने ४४ हजार १०९ हेक्टर जमिनमा खेती हुँदै आएको छ । चार हजार २८६ हेक्टर बुट्यान छ ।

सहायक वन अधिकृत हेमबहादुर थापा चुरे विनाशलाई लिएर भावी पुस्ताका लागिसमेत भनेर सबैले सोच्ने बेला आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरे संरक्षण गर्न जथभावी उत्खनन, सडक निर्माण गर्नुभएन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसारको उपाय अपनाउनुप¥यो । जथाभावी रुख काट्नु नि भएन ।”

चुरे संरक्षणकै लागि लागू भएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत देशैभरि असार महिनामा वृक्षरोपण कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनतामा पनि जनचेतना हुनुपर्ने उहाँको बुझाइ छ । चुरे क्षेत्रको माटोमा पानी अडिनै नसक्ने खालको हुने भएकाले त्यसलाई चलायो कि बगिहाल्ने सहायक वन अधिकृत थापाले बताउनुभयो ।“चुरेलाई चलाउनै हुँदैन,” उहाँले भन्नुभयो, “त्यसबाट विपत्ति निम्तिन सुरु भइहाल्छ । ठुल्ठूला खहरे बन्छ, खेतीयोग्य जमिन बगर नै बनाउँछ ।”