विजयकुमार साह
ढल्केबर, फागुन ३० गते ।धनुषाको कमला नगरपालिकामा चालू आर्थिक वर्षको बजेट अझै पारित हुन नसक्दा विकास निर्माणका कामदेखि सेवा प्रवाह प्रभावित भएका छन् ।
जनप्रतिनिधिबीच आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको आठ महिना बित्न लाग्दा पनि नगर परिषद् हुन सकेको छैन ।स्थानीयका अनुसार नगरसभा नहुँदा बजेट ल्याउन नसकेकाले नगरपालिका क्षेत्रका विकास आयोजना ठप्प भएका छन् भने कर्मचारी, शिक्षक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीसमेत समस्यामा परेका छन् ।
नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षकले विगत आठ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।नगरपालिकाभित्रका पाँच वटा माध्यमिक विद्यालय, दुई वटा निम्न माध्यमिक विद्यालय र दश वटा प्राथमिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षक आन्दोलनका कारण करिब सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।शिक्षकले विगतमा नगरपालिकासँग भएको सहमतिअनुसार आठ महिनाको बक्यौता तलबभत्ता एकमुष्ट भुक्तानी गर्नुपर्ने र नियमित तलबको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
माग सम्बोधन नभएसम्म विद्यालय सञ्चालन नगर्ने अडान रहेको जनहित माध्यमिक विद्यालय माची झिटकैयाका प्रधानाध्यापक जगन्नाथ यादवले बताउनुभयो ।नगरपालिकाको बजेट नल्याउँदा शिक्षक मात्र होइन, स्वास्थ्य, कृषि, वडा कार्यालय तथा अन्य शाखामा कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन् ।
बजेट नहुँदा विकास निर्माणका योजना कार्यान्वयन हुन सकेका छैनन् ।सडक, पूर्वाधार र अन्य विकास आयोजनाका काम रोकिँदा स्थानीयवासी निराश बनेका छन् ।
त्यस्तै कमला नगरपालिकाका नौ हजार पाँच सयभन्दा बढीले विगत आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।
नियमित रूपमा प्रत्येक तीन महिनामा वितरण गरिनुपर्ने उक्त भत्ता लामो समयदेखि नपाउँदा ज्येष्ठ नागरिक, एकल महिला तथा अन्य लाभग्राही समस्यामा परेका छन् ।
कमला नगरपालिका लगमाका ७२ वर्षीय गङ्गाई ठाकुरले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार नियमित रूपमा पाउनुपर्ने भत्ता नपाउँदा दैनिक जीवन चलाउनसमेत कठिन भएको छ ।
नगर उपप्रमुख शिलादेवी मण्डलले नगर प्रमुखले नगरसभा नबोलाउँदा बजेट पारित हुन नसकेको बताउनुभयो ।नगरसभा बोलाउन आफूले पटकपटक आग्रह गरे पनि नगरप्रमुखले पहल नगरेको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख विशेश्वर यादवले आइतबार नगरसभासम्बन्धी बैठक बोलाइएको जानकारी दिँदै सोही बैठकबाट नगरसभाको मिति तय गरिने बताउनुभयो ।
साविक हरिने, लक्कड, सिंग्याही मडान, दुबरकोट, माची झिटकैयालगायत छ वटा गाविस मिलेर बनेको कमला नगरपालिकामा नौ वटा वडा रहेका छन् ।
यहाँ करिब ४२ हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । धनुषाको १८ स्थानीय तहमध्ये १७ वटाले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरिसेका छन् ।