अमरराज नहर्की
तनहुँ, फागुन ३० गते । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने-पोखरा) मा निर्माण कार्यले गति लिएको छ । हालसम्म यस खण्डको समग्र भौतिक प्रगति ७१ प्रतिशत पुगेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थले जानकारी दिनुभयो ।
जामुनेदेखि पोखराको पृथ्वीचोकसम्म ३९ किलोमिटर दूरी रहेको यस खण्डमा ३५० मिटरबाहेक सबै सडक कालोपत्र भइसकेको छ । कायस्थले भन्नुभयो, “विजयपुरमा ३५० मिटरबाहेक सबै कालोपत्र भइसकेको छ, यसले गर्दा अहिले यात्रा सहज बनेको छ ।”
यसै खण्डअन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम पनि ६० प्रतिशत सम्पन्न भएको छ । इन्जिनियर कायस्थका अनुसार पुलको जग (फाउन्डेसन) र एङ्कर ब्लक जस्ता महत्त्वपूर्ण काम सकिएर अहिले सुपर स्ट्रक्चरको काम अघि बढिरहेको छ । १ अर्ब ७ करोड रुपियाँ लागतको यो पुल रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको हो ।

सुरुवाती चरणमा बिजुलीका पोल स्थानान्तरण र मुआब्जा विवादले गर्दा केही ढिलाइ भए पनि अहिले लक्ष्यअनुसार नै काम भइरहेको आयोजनाको दाबी छ । यस खण्डमा निर्माण गर्नुपर्ने कुल १२ वटा पुलको काम सम्पन्न भइसकेको छ । सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार भइरहेको हो ।
यो खण्डको निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन’ ले ७ अर्ब ४० करोड ४६ लाख रुपियाँमा लिएको हो । सडक कालोपत्रको काम अन्तिम चरणमा पुग्न लागेसँगै यात्रुले धुलो र हिलोबाट राहत पाउन थालेका छन् ।