• ३० फागुन २०८२, शनिबार

द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको सुरक्षा र हित सरकारको प्राथमिकता छ : परराष्ट्रमन्त्री

blog

परराष्ट्रमन्त्री बालानन्द शर्मा

काठमाडौँ, फागुन  ३० गते । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एसिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर एवं सजग रहेको बताउनुभएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकको आवतजावतमा प्रत्यक्ष असर परेको उहाँले उल्लेख गर्नुभयो।

सम्भावित आपत्कालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रुम’ (आपत्कालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी उहाँले दिनुभयो। कन्ट्रोल रुममार्फत विदेशमा रहेका नेपाली र स्वदेशमा रहेका उनीहरूका परिवारबीच सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माले प्रस्ट पार्नुभयो।

मन्त्री शर्माले भन्नुभयो, “विश्वका केही क्षेत्रमा देखिएको अस्थिरताले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ। विशेषगरी पश्चिमी एसियाका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति सरकारको स्वाभाविक चासो छ। हवाई सेवा प्रभावित हुँदा परेको असरलाई मध्यनजर गर्दै नागरिकको सुरक्षा र सहायताका लागि आवश्यक कार्यहरू अघि बढाइएको छ।”

उहाँले पश्चिमी एसिया क्षेत्रमा रहेका नेपालीहरूलाई कुनै समस्या परेमा तत्काल सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गर्नुभयो।

विषम परिस्थितिमा नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको मन्त्री शर्माले बताउनुभयो। भूकम्प, बाढीपहिरो जस्ता दैवीप्रकोपदेखि कोभिड–१९ को महामारीसम्म गैरआवासीय नेपालीहरूले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।