• १८ असार २०८१, मङ्गलबार

जनकपुरधामका सडक अतिक्रमणमुक्त गराइने

blog

सडक अतिक्रमण गरेर राखिएका पसल । तस्बिर स्मृति मिश्र

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा), जेठ ३१ गते । जनकपुरधामका मुख्य बजार क्षेत्र र वरपरका सडक अतिक्रमणमुक्त गर्न जनकपुरधाम उपमहानगरपालिका कार्यालयले अभियान थाल्ने भएको छ । सहरका सडक वरपरका पसल र खुद्रा सररसामान बिक्रेताहरूले सडकपेटी अतिक्रमण गरिदिँदा पैदलयात्रुलाई बीच बाटा भएर नै हिँड्डुल गर्नुपर्ने बाध्यता छ । त्यसमा सवारीसाधनहरू पनि सडकमै पार्किङ हुँदा घन्टौंसम्म जामको समस्या स्थानीयलाई भोग्नुपरेको छ । 

‘‘सडकपेटी अतिक्रमण गरेर पसलेहरू पसल थापेका छन्, जसले गर्दा सडकछेउमा पेटी भएको ठम्याउन गाह्रो छ । पैदलयात्रुहरू दुर्घटनाको जोखिम मोलेरै भए पनि बीच सडक भएर यात्रा गर्छन्’’ पारिवारिक कामका सिलसिलामा जनकपुरधाम आउनुभएका पर्साको पोखरिया गाउँपालिकाकी पूर्वउपप्रमुख सलमा खातुन भन्नुहुन्छ्, ‘‘आधी सडक नै मिचेर पसलहरू सञ्चालनमा छन् । सडकपेटीको नामोनिसान नै छैन । यसले जनकपुरधामलाई अव्यवस्थित मात्र होइन, कुरूप बनाएको छ ।’’

सडक, खाली मैदानलगायत अन्य भूभाग कब्जा गरी टहरा बनाई वा सरसामान फिँजाई स्थायीरूपमा पसल सञ्चालन गर्नेहरूको सङ्ख्या जनकपुरधाम उल्लेख्य छ । जनकपुरधामको मुख्य स्थल जानकी मन्दिर वरपर यस्ता पसलहरूले गर्दा सडक नै नदेखिने वा सडकमा सवारीसाधन पार्किङ भएको दृश्य देखिने गरेको छ । 

अतिक्रमित सडकमा जथाभावी सवारीसाधन पार्किङ गरिँदा आकस्मिक प्रयोजनका एम्बुलेन्स र बारुणयन्त्र परिचालनमा समेत अवरोध उत्पन्न हुनेगर्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष मिथिलेशलाल कर्णले जानकी मन्दिर छेउछाउका पसल र सवारीसाधन पार्किङ व्यवस्थित गरी सडकपेटी मुक्त गराउने र जाम लाग्ने समस्याबाट पार पाउन गृहकार्य भइरहेको बताउनुभयो । 

उहाँले यात्रुहरूको सहज आवागमन र खुद्रा पसल थापेर जीविकोपार्जन गर्नेहरू दुवैलाई सम्बोधन गरी सडक प्रयोग हुने अवस्था बनाइने जानकारी दिनुभयो । जानकी मन्दिरको उत्तरपट्टी वडा नम्बर १० र ११, पूर्वोत्तर ३ र दक्षिणमा वडा नम्बर ४ पर्छ । मन्दिरमा भ्रमणदर्शनका लागि आउनेहरूले परिसरसँग जोडिएका साँघुरा सडक र अझ घुम्तीमै सडक पार्किंङ गरिदिने गरेका छन् । जसले गर्दा जाम हुनुका साथै दुर्घटनाका सङ्ख्यामा पनि बढोत्तरी भएका छन् । 

जनकपुरधामका सडकमा छाडा चौपायाको समस्या भइरहेकै बेला बाटामै निर्माणसामग्री थुपारिदिने प्रवृत्ति पनि दुर्घटनाको कारण बन्ने गरेको छ । जनकपुरधाम–९ ब्रह्मपुरीमा निर्माणाधीन घरका लागि बाटोमै थपारिएको छडका कारण स्थानीय पत्रकार कुलदीप दास मोटरसाइकल दुर्घटनामा सोमबार पर्नुभएको छ । 

बाटामा राखिएका छडसँग ठोक्किएर आफू सवार मोटरसाइकल चिप्लिँदा उहाँका शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते पत्रकार दासले भन्नुभयो, ‘सडक ढुंगा, गिट्टी, वालुवा र छड थुपार्न त होइन नि । यहाँ त भोजभतेरका लागि सडक नै प्रयोग हुन्छन् । जिम्मेवार निकायको ध्यान यसतर्फ जाँदैन ।’

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले खुद्रा पसलहरूलाई वैकल्पिक ठाउँमा सारेर फुटपाथ अतिक्रमणमुक्त गराउने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने र सडकमा निर्माण सामग्री थुपार्न निषेध गरिनुका साथै सवारीसाधन पार्किङ व्यवस्थापनसम्बन्धी योजना बनिरहेको जानकारी दिनुभयो । उहाँले प्रादेशिक राजधानीसमेत रहेको जनकपुरधाममा ट्राफिक व्यवस्थापन बलियो बनाइने बताउनुभयो । 

प्रमुख साहले भन्नुभयो, ‘‘सडक प्रयोगलाई सुरक्षित र भरपर्दो बनाउने दायित्व नियमनकारी निकायसँगै स्थानीयको पनि भएकाले सडक अतिक्रमण नगर्न र जाथाभावी सवारीसाधन पार्किङ्ग नगर्न म सबैसँग आग्रह गर्दछु ।’’