• १८ असार २०८१, मङ्गलबार

शान्ति सुरक्षा मजबुत बनाउने चार जिल्लाको सहमति

blog

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकपछि चारै जिल्लाका सुरक्षा अधिकारी।

बेलिना थापा
लमजुङ, जेठ ३१ गते। लमजुङ र छिमेकी जिल्ला मनाङ, तनहुँ र गोरखा जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति भएको छ। मनाङमा आयोजित अन्तर जिल्ला सुरक्षा समन्वय बैठकबाट शान्ति सुरक्षा कायमका लागि चार जिल्लाबीच समन्वय गरेर अघि बढ्ने निर्णय भएको हो। 

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आर्चायका अनुसार चार जिल्लाका सुरक्षा निकायका प्रमुखको छलफलबाट चारै जिल्लाका सीमा नाकामा चेकजाँच कडाई गर्ने, अपराधिक क्रियाकलाप नियन्त्रण गर्नेलगायतको कार्यमा एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्ने सहमति भएको छ। एक जिल्लामा भएको अशान्तिबाट अर्को जिल्लामा असर पर्नसक्ने भएकाले उच्च सावधानीका साथ काम गर्ने, चोरी निकासी हुन नदिने कार्यमा समन्वय गर्ने निर्णय भएको आचार्यले बताउनुभयो। 

यस्तै बर्खा सुरु भएकाले बाढीपहिरोलगायतको विपद् न्यूनीकरणका लागि समन्वय गर्ने भएको छ। बर्खाले डुम्रे-बेंसीशहर-चामे सडकको केही भाग कच्ची रहेको र क्षति पुग्न सक्ने भएकाले यसको मर्मत सम्भार र सञ्चालनमा पनि समन्वय गरिने निर्णय भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो। यस्तै, पर्यटकीय जिल्ला भएकाले पर्यटन आगमन भइरहने भएकाले पर्यटकलाई सल्लाह, सुझाव, सुरक्षा र पर्यटन प्रवद्र्धनका कार्यमा सहकार्य हुनेभएको छ।

जिल्लाजिल्ला भित्रने पर्यटकको सुरक्षालाई मध्यनजर गरेर जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिने, बाटोको बारेमा जानकारी गराउने, हिमपातको समयमा सल्लाह दिने, जवरजस्ती पदमार्गमा आउजाउ गर्न नदिने भएको छ।

जिल्लाजिल्लामा आउने पर्यटकको नाम, नम्बरसहितको विवरण लिइने छ। यस्तै यात्रु र पर्यटकलाई ध्यानमा राखी सवारी साधनमा भाडा नियमन गर्ने भएको छ। जुनसुकै समस्या परेका सम्बन्धित जिल्लाका प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। विपद्का कारण घाइते वा विरामी हुन सक्ने भएकाले चार जिल्लाका अस्पताललाई तयारी अवस्थामा राखिने भएको छ।