• १८ असार २०८१, मङ्गलबार

ताप्लेजुङ जिल्ला समन्वय समितिमा गठबन्धन विजयी

blog

जिससमा निर्वाचित पदाधिकारी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३१ गते। जिल्ला समन्वय समिति ताप्लेजुङमा प्रमुखसहित सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति चयनका लागि मङ्गलबार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का छिरिङ लामा विजयी हुनुभएको हो।

जिल्ला समन्वय समिति चयनका लागि कुल १८ मतदाता सङ्ख्यामध्ये १० मत प्राप्त गरेर प्रमुखमा लामा विजयी हुनुभएको हो। प्रमुख पदका अर्का प्रत्याशी एमालेका घनेन्द्र मादेनले आठ मत मात्र प्राप्त गर्नुभयो। समितिको उपप्रमुखमा भने गठबन्धनतर्फकै नेपाली कांग्रेसका कृष्णप्रसाद लिङ्खिम निर्विरोध निर्वाचित हुनुभएको थियो। 

यस्तै सदस्य पदमा नेपाली कांग्रेसका विष्णुप्रसाद तिवारी, नेकपा (माओवादी केन्द्र) का भूपाल मादेन र नेकपा (एकीकृत समाजवादी) का रवीन्द्रकुमार वनेम निर्वाचित हुनुभएको छ। दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ माओवादी केन्द्रका सन्तोष राई तथा महिलातर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङ्देन र हेमन्ता पौडेल निर्वाचित हुनुभएको मतदान अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो। 

सदस्य पदमा निर्वाचित सबै जनाले गठबन्धनसँग भएको पूरै मत अर्थात् समान १२-१२ मत प्राप्त गर्नुभयो। यसअघि स्थानीय तहको निर्वाचिनमा जिल्ला समन्वय समिति प्रमुख माओवादी र उपप्रमुख एकीकृत समाजवादीले पाउनेगरी गठबन्धनबीच सहमति भएको थियो। अन्तिममा आएर माओवादीको आन्तरिक द्वन्द्वका कारण मनोनयन गर्ने दिन आकस्मिक समीकरण बदलिएर एकीकृत समाजवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति बन्न गएको थियो।