• १८ असार २०८१, मङ्गलबार

नागरिकता लिनेको चाप बढ्यो

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ३१ गते । सर्लाहीमा कक्षा १२ को परीक्षा सम्पन्न भएपछि नागरिकता बनाउनेको चाप बढेको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका धेरै जसो विद्यार्थी माथिल्लो कक्षा अध्ययन तथा वैदेशिक रोजगारीमा जाने भन्दै नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुग्ने गरेका छन् । यहाँ जिल्ला प्रशासन कार्यालय मलङ्गवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुने गरेको छ । 

इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख गुणबहादुर भुजेलले कक्षा १२ को परीक्षा लगत्तै नागरिकता बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनअघि दैनिक २० देखि २५ जनासम्म नागरिकता बनाउने जाने हरिवनको इलाका प्रशासन कार्यालयमा अहिले दैनिक ५० देखि ५५ जनासम्म नागरिकता बनाउनका लागि पुग्ने गरेका छन् । 

भीडभाडकै बीच सेवाग्राहीलाई एकै दिनमा नागरिकता जारी गरेर पठाउने गरेको भए पनि राहदानीतर्फ भने बारम्बार सर्भरले काम नगर्दा समस्या पर्ने गरेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । सर्भरको समस्याले राहदानी बनाउन पुग्ने सेवाग्राही हैरानी खेप्न बाध्य छन् ।

उता इलाका प्रशासन कार्यालय बरहथवाको नागरिकता फाँटमा पनि सेवाग्राहीको चाप बढेको छ । दैनिक १५ देखि २० वटासम्म नयाँ नागरिकता जारी गर्ने कार्यालयमा कक्षा १२ को परीक्षापछि अहिले दैनिक ४० जनाभन्दा बढी सेवाग्राही नागरिकता बनाउन आउने गरेको कार्यालय प्रमुख रामनरेश रामले जानकारी दिनुभयो । 

त्यस्तै प्रायः भीडभाड हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पनि अहिले सेवाग्राहीको चाप झन् बढेको छ । स्थानीय तह निर्वाचन र कक्षा १२ को परीक्षा सकिए लगत्तै नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीको चाप बढ्दै गएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिनुभयो । 

प्रशासकीय अधिकृत थापाका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक १३० भन्दा बढीले नयाँ नागरिकता लिने गरेका छन् । पूरा कागजात लिएर आएका जोकोही सेवाग्राही रित्तो हात घर फर्किनु नपरोस् भनेर साँझ अबेरसम्म फाँटमा बसेर काम गर्ने गरेको प्रशासकीय अधिकृत थापाले बताउनुभयो । एसइईको नतिजा सार्वजनिक भएपछि नागरिकता फाँटमा सेवाग्राहीको चाप अझ बढ्ने कर्मचारीहरूले बताएका छन् ।